काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएर नेकपा(बहुमत) पुनरगठन गरेका धर्मेन्द्र बास्तोलाले मोहन वैद्य क्रान्तिको नाममा समय व्यतीत गर्ने मात्र काम गरेकाले पार्टीबाट अलग भएको बताएका छन् ।
नेकपा बहुमतका संयोजक रहेका बास्तोलाले वैद्यसितको एकता असफल भएपछिको पार्टी पुनर्गठन र पछिल्लो राजनीति लगायत विषयमा बुधवार काठमाडौँमा धारणा राख्दै उनले वैद्यबाट क्रान्ति हुन नसक्ने निष्कर्ष निकालेका हुन् ।
‘क्रान्तिकारी नेकपाका नेतृत्व अत्यन्तै जड प्रकारको देखियो । सामाजिक रूपान्तरणमा रुखोपन देखियो । प्रगतिबाट वञ्चित भएर बस्नु भनेको क्रान्तिको नाममा समय व्यतीत गर्ने मात्रै हो भन्ने निष्कर्षमा पुग्यौँ ।
एकता असफल भएको घोषणा र्गयौँ’, उनले बताए ।
यस्तै सत्तारुढ कांग्रेस, एमाले पश्चगामी र भ्रष्ट पार्टी भएकाले विदेशीको इसारामा जनताको अधिकार स्थापित भएको हेर्न नचाहेको आरोप लगाए ।
‘सरकारमा रहेका कांग्रेस, एमाले भ्रष्ट र पश्चगामी पार्टी हुन् । विदेशी प्रतिक्रियावादीको इसारामा उनीहरू जनताको अधिकार, गणतन्त्र स्थापित भएको हेर्न चाहँदैनन् । वैज्ञानिक समाजवादी समाज स्थापित भएको हेर्न चाहँदैनन्’, उनले भने, ‘प्रतिगामी शक्ति सत्तामा छन् ।
गणतन्त्र र जनताको हक अधिकारका लागि लडेका शक्तिहरू सत्ता बाहिर छन् ।अहिलेको संविधान संशोधन गरी कांग्रेस र एमाले पश्चगामीतर्फ जान लागेको कुरा प्रस्ट भएको उनले बताएका छन् ।