काठमाडौं । सहकारी पीडितहरूले बिहीबार बिहान मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेका छन् । करिब तीन महिनादेखि लगातार आन्दोलनमा रहेका पीडितहरूले सहकारीमा फसेको आफ्नो रकम फिर्ता ल्याउन कुनै काम नभएको भन्दै आन्दोलन गरेका हुन । गत जेठ १० गतेदेखि उनीहरू लगातार आन्दोलनमा बसेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा आबद्ध रहेर मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले आन्दोलनमा समर्थन जनाउँदै आएका छन् ।
महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ । यसअघि गत चैत ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र पीडितहरूबीच समस्या समाधानको लागि सहमति भएको थियो ।
पीडितहरूबाट सहभागिता रहने गरी अधिकार सम्पन्न छानबिन समितिको गठन गर्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई सुदृढीकरण गरेर समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सम्पती र दायित्वको व्यवस्थापन गरेर पीडितहरूको बचत फिर्ता गर्ने लगायतका सम्झौता भएको थियो ।