काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्य भएको बताएका छन् । मंगलबार प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि एमाले र कांग्रेस मिल्नु परेको बताएका हुन् ।
‘राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो । त्यसको अन्त्य गर्न संविधान संशोधन आवश्यक छ । एक्लै नसकिने भएकाले कांग्रेसको साथ खोजिएको हो,’ उनले भने ।
महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेकाले थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताए । सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने भएकाले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिँडेको उनको भनाइ छ ।