• जेष्ठ २ २०८३, शनिबार

आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना

श्रावण १४ २०८१, सोमबार

काठमाडौँ, १४ साउन । आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिन विषेशगरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरोजस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

मौसमविद् सञ्जिव अधिकारीले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो । “रातिको समयमा वर्षा हुने सम्भवना छ तर लगातारको वर्षाको सम्भावना भने छैन”, उहाँले भन्नुभयो, ‘आज राति पनि देशभर साधारणतया बदली रहने छ र सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो ।
महाशाखाकानुसार अहिले पनि कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मङ्गलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
मङ्गलबार राति भने देशभर साधारणतया बदली रहनेछ । कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा
मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।यस्तै बुधबार देशभर साधारणतया बदली रहनेछ । सो दिन दिउँसोको समयमा मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी, कणर्ाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बुधबार राति देशभर साधारणतया बदली रहने र मधेस, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आग्रह गरिएको छ ।

साथै ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।