• मंसिर ११ २०८१, मंगलवार

पोस्ट लकडाउन एन्जाइटीका लक्षण

श्रावण १३ २०८१, आईतवार

पोस्ट लकडाउन एन्जाइटीका लक्षण यस्ता छन्ः

१. भविष्यप्रति चिन्ता
पोस्ट लकडाउन एन्जाइटीमा व्यक्ति आफ्नो भविष्यप्रति चिन्तित हुन्छन्। कोरोना महामारी र लकडाउनमा भएको उतारचढावका कारण मानिसहरु आफ्नो भविष्यप्रति चिन्तित हुन थालेका छन्। अहिलेको अवस्थामा प्रायजसो मानिसहरु आफ्नो भविष्यप्रति सुनिश्चित हुन सकेका छैनन्। फेरी डाउन हुन्छ, लकडाउन भए के गर्ने रु हामी कसरी सुरक्षित बस्ने रु भन्ने किसिमको डर यस एन्जाइटीमा पैदा हुन सक्छ।

२. निद्रामा समस्या
लकडाउन भएपछि सबै जना मानिसहरु घरभित्रै थुनिए। दैनिक गर्दै आएका काम र क्रियाकलापहरुमा एकाएक परिवर्तन भए। घरभित्रै थुनिएपछि अधिकांशको दैनिकीमा परिवर्तन भयो। ढिलो सुत्ने, ढिलो उठ्ने लगायत व्यवहारका कारण मानिसहरुको निद्रामा समेत समस्या हुने गरेका छन्। यो एन्जाइटी हुने व्यक्तिहरुमा पनि राति निद्रा नलाग्ने, निद्रामा समस्या हुने जस्ता लक्षण देखिन सक्छ।

३. थकान र चिढचिढापन हुनु
यदी कुनै व्यक्ति एकदम थकित अनि चिढचिढापन महसुस गरिरहेको छ भने पोस्ट लडकाउन एन्जाइटीको समस्या हुन सक्छ। दैनिकीमा आएको परिवर्तनका कारण मानिसहरु स–सानो कुरामा रिसाउने, झर्किने, चिढाउने किसिमको पनि हुने गर्छन्।

४. श्वास फेर्न गाह्रो हुने
यदी कुनै व्यक्ति चिन्तित र तनावपूर्ण अवस्थामा छ भने उसले श्वासप्रश्वासमा केही समस्या भएको महसुस गर्छन्। यो एन्जाइटीको समस्या हुनेहरुमा पनि श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिन्छन्। किनभने यो अवस्था भएका व्यक्तिहरु सामान्य अवस्थामा हुँदैनन्। उनीहरु स–साना कुरामा झर्को मान्ने, तनावपूर्ण अवस्थामा रहने हुन्छन्।

५. धेरै नकारात्मक सोच आउने
लकडाउन खुलिसकेपछि पनि कतिपय मानिसहरु भीडभाड तथा बजारमा जान डर मान्ने गर्छन्। उनीहरुमा अझै पनि मलाई कोरोना सरिहाल्छ भन्ने जस्ता डरहरु मनमा गढिएर बसेको हुन्छ। बजार तथा कार्यालयमा जान डर लाग्ने, भीडमा जान डर लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन्। मलाई अरुले कोरोना सारिदिन्छ, कोरोना लाग्ने बित्तिकै मरिहाल्छु भन्ने जस्ता नकारात्मक सोचहरु उनीहरुमा आउन सक्छ।

६. अधिक सतर्क व्यवहार
कोरोना लगायत विभिन्न रोगबाट बच्न सतर्क रहनु राम्रो हो। तर अधिक रुपमा सर्तक रहनु सामान्य होइन। डा रितेश थापाका अनुसार केही व्यक्तिहरुमा ओभर कन्सियस अर्थात् अधिक सचेत हुने समस्या पनि देखिएको छ। जसमा आवश्यकभन्दा बढी नुहाउने, हात धुने, लकडाउन खुलाउनै नहुने भन्दै रिसाउने जस्ता समस्या पनि यसको लक्षण अन्तर्गत पर्दछन्।

७. शारीरिक लक्षण
पोस्ट लकडाउन एन्जाइटीमा व्यक्तिलाई मानसिक लक्षण मात्र नभई विभिन्न शारीरिक लक्षण पनि देखिन सक्छन्। ती शारीरिक लक्षणलाई बेवास्ता गर्नु हुँदैन। टाउको दुख्ने, पेट दुख्ने, पसिना आउने, वान्ता हुने लक्षणहरु यस अन्तर्गत पर्दछन्।