नेपाली राजनीति अहिले वैश्विकरणको प्रभावमा छ । अनुहार र नालेबेली नेपाली भए पनि शासक र शासन नेपाली हुन छाड्दै गएका छन् । यसमा वैश्वीकरणको प्रभाव पनि छ । र, वैश्वीकरणमा नेपाली शासक वर्गको आकर्षणको पनि उत्तिकै छ ।
हरेक सन्दर्भ र चर्चा साङ्केतिक र व्यङ्ग्यउद्दत हुन्छन् । घटना र परिघटना तिलस्मी र चामत्कारिक हुन्छन् । क्षणभरमा परिवर्तन हुन्छ, राजनीतिक परिवेश ! असंभव यहाँ केही पनि छैन । तर देश र जनताले सोचेको कुरा संभव पनि छैन ।
यसका लागि अनौठो भाष्य निर्माण गरिन्छ, यहाँ । त्यस्तो परिभाषाजन्य भाष्यको जसले जे अर्थ लगाए पनि भयो । साङ्केतिक हुनाले जे उपमा दिए पनि भयो । नेपाल, नेपाली परिवेश र नेपाली भाषा तथा यहाँका रैथाने तथा घरेलु प्रतिक र प्रतिकात्मक कुरा साँगुरा र जड भइसकेका छन् ।
त्यसैले वैदेशिक अलङ्कार र भाषिक आभूषणले सुशोभित हुँदै जान थालेका छन् शासकहरू ! जनताले पनि यही भाषा र भाष्यका आँखामार्फत् हेर्न थालेका छन् नेपाली चराचर जगत् !
नेपाली राजनीतिक नेता शीर्ष स्थानमा छन्, नयाँ भाष्यको आविष्कारक बन्नेमा । उनीहरू आफ्नो ‘कठपुतली’ अवस्थालाई ढाकछोप गर्न यही भाष्यको शानदार वस्त्र धारण गरिरहेका छन् । यो भाष्यरूपी वस्त्र ‘एम्परर्स न्यु क्लथ’ बनिरहेका छन् । नयाँ पुस्ताले यसको धज्जी उडाइरहेका छन् । तर राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता र केही हदसम्म समर्थक तथा शुभचिन्तकहरूले यो नयाँ भाष्यरूपी ‘न्यु क्लथ’ को दोहर्याइ तेहर्याई वचन र प्रवचन बनाइरहेका छन् ।
साहित्य सिर्जनामा कुनै पनि कुराको भाष्य निर्माण सकारात्मक परिणाम ल्याउने आशाका साथ गरिएको हुन्छ । नेपाली भाषिक तथा साहित्य जगतमा राम, रावण, महिसासुर, काली देवी, लक्ष्मी, सरस्वती, पाण्डव, कौरव, भीष्म पितामह, एकलव्य, घटोत्कच, किच्चक, गुरूद्रोणाचार्य र यस्ता हजारौं पात्र तात्कालीन सिर्जित भाष्यका प्रतिक हुन् ।
तर यी प्रतिक एउटै भाष्य–प्रवृत्तिको परिचायक वा बाहक होइनन् । र, हुन पनि सक्दैनन् । उदाहरणका लागि राम र रावणलाई लिन सकिन्छ । यी दुईमा विरोधाभाष मात्र होइन, विपरीतता छ । समय यस्तो आयो, नेपालमा र नेपाली राजनीतिमा उदाहरण दिइएका यी पात्रमा झैं न त विपरीतता छ, न त विरोधाभाष नै ! बरू समानता र सामिप्यता छ ।
तर सत्ता स्वार्थका कारण कुनै न कुनै प्रतिकात्मक विम्ब तयार पार्ने र भाष्य निर्माण गर्ने गरिहेका छन् । यस्ता भाष्य नेपाली राजनीतिक जगतमा ‘शमन’ भएकै देखिन्छ । यो धेरैका लागि ‘पथ्य’ पनि हुँदै गएको छ । यो विडम्वना हो । उहिले उहिलेका शास्त्र तथा कथामा वर्णित यस्ता भाष्य अहिले यथार्थमा ‘जयगान’ वा ‘प्रशस्ती’ मा परिणत भएका छन् ।
शायद यसैलाई भाषिक विचलन पनि भनिन्छ । यस्ता खालका भाषिक विचलन समाजमा आएका पथ विचलन, नैतिक विचलन र कर्तव्य विचलनका कारण जबर्जस्त स्वीकार्य बन्दै गएका त छैनन् ? विषय गम्भीर र सोचनीय बनिरहेको छ ।
पार्टीका नेता र नेतृत्व भ्रष्ट र अनैतिक बनिसक्दा पनि ‘आफ्ना’ लाई पुजा गर्ने र अरूको ‘दोहोलो’ काढ्ने पूर्वाग्रही मानसिकता र स्कुलिङले नेपाली समाजमा दाइँ लगाउन छाडेन । आफ्नो चोख्याउने र अर्काको कालो पोत्ने दुराग्रही मानसिकताले आफ्नालाई ‘राम’ र अर्काकालाई ‘रावण’ देख्ने आँखाको पट्टी खुल्न सकेन अहिलेसम्म पनि !
नयाँ पुस्ताले कम्तीमा पनि भाष्य निर्माण र प्रशस्ती प्रवचनतिर भन्दा पनि समाजिक तथा राजनीतिक पथ विचलनको समस्या पहिचान गर्नतिर लागेर उज्ज्वल भविष्य देख्न, निर्माण गर्न र पछ्याउनतिर लाग्ने कि ?