• जेष्ठ २ २०८३, शनिबार

६ उद्योगमा बिजुली जोड्ने प्राधिकरणको निर्णय

श्रावण ११ २०८१, शुक्रबार

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६ उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ।

मंगलबार साँझदेखि बिजुली जोड्ने निर्णय गरेको हो। तीन महिनाभित्र बक्यौता नतिरे फेरि कारबाही प्रक्रिया अघि बढाउने गरी विद्युत नियमन आयोगले बिजुली जोड्न निर्देशन दिएका कारण जोडिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै पछिल्लो समय विभिन्न ६ वटा उद्योगको लाइन काटेको थियो।

त्यस्तै, प्राधिकरणको ९७६ औं बैठकले बक्यौता अधिकतम २८ मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने निर्णय समेत गरेको थियो।

आइतबार विद्युत नियमन आयोगले भने उद्योगमा काटिएको लाइन तत्काल जोड्न प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पनि काटिएको लाइन जोड्नुपर्ने पक्षमा थिए।