काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उड्डयन क्षेत्रमा युरोपियन युनियनको कालो सूचीबाट हट्नका लागि सूचकहरूमा सुधार देखिएको बताएका छन् । तर, बुधबार भएको सौर्य एयरको जहाज दुर्घटनाले भने त्यसलाई प्रभाव पार्ने उनले बताए ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री पाण्डेले आफू हालै मन्त्री भएको र ब्रिफिङ लिन पनि भ्याइनसकेको बताए । ‘ईयूको सेफ्टी लिस्टमा समिति बनेको र सुझावहरू लिने काम भएको छ,’ उनले भने, ‘इन्डिकेटरमा सुधार देखिएको छ । हिजोको घटनाले केही प्रभाव पार्ने भैहाल्यो ।’
नेपाल निकट भविष्यमै ईयूको त्यस्तो लिस्टबाट हट्ने सम्भावना बढेको मन्त्री पाण्डेले बताए । ‘हिजोको घटना (सौर्य एयरको जहाज दुर्घटना) ले कम प्रभाव कसरी हुन्छ मन्त्रालले हेर्नेछ,’ उनले भने ।
कोरियाका फ्लाइट काठमाडौं आउँदा भाडादरमा उनीहरूकै एकाधिकार जस्तो भएको पाण्डेले बताए । त्यसका लागि आफूहरूले नेपालको फ्लाइट पनि भएमा प्रतिस्पर्धा हुन्छ भनेर प्रस्ताव गरेको उनको भनाइ छ । ‘कोरियनले अडिट गर्न मिल्ने नमिल्नेमा अलिकति कन्फ्युजन जस्तो छ । हाम्रो पनि ढिलासुस्ती जस्तो देखिन्छ्’ पाण्डेले भने ।
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ऋणको साउब्याज तिर्नु चुनौतिपूर्ण रहेको उनको भनाइ छ । ‘पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको साँवा ब्याज तिर्न चुनौती छ । सरकारले उठाउनुपर्ने पहलकदमी पनि छ । त्यहाँ आउने एअरलाइन्सलाई सहुलियत दिनुपर्नेछ,’ उनले भने ।
यो विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक हेर्ने उनले बताए । त्यस्तै निजगड विमानस्थल निर्माण वनमा गएर अड्किएको उनले बताए । ‘निजगढको कतिपय कुरा वनमा गएर अड्केको छ । सम्बन्धित मन्त्रालयले काम गरेर चाँडो काम गर्नुपर्ने अवस्था छ,’ पाण्डेले भने ।