काठमाडौं । त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा बुधबार १८ जनाले ज्यान गुमाएका छन् । त्यो विमान दुर्घटना हुँदा यो कम्पनीले दक्ष र ठूलो जनशक्ति गुमाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका सबै सौर्यकै कर्मचारी भएकाले कम्पनीले क्षति व्यहोर्नुपरेको हो । खास आफ्नै कर्मचारी लिएर जहाज किन पोखरा आउँदै थियो ? पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीका अनुसार विमान कम्पनीले नियमित मर्मत सम्भारका लागि २४ जुलाई अर्थात् आजदेखि एक महिनालाई ‘ह्याङ्गर’ मागेको थियो ।
‘जसरी हामी स्कुटर–बाइकको नियमित सर्भिसिङ गर्छौं, विमानको पनि मर्मत गर्नुपर्छ,’ उनले भनिन्, ‘कम्पनीले २४ जुलाईदेखि ‘ह्याङ्गर’ उपलब्ध गराइदिन भनेर निवेदन दिएको थियो ।’ दुर्घटना भएको जहाज ‘सी चेक’का लागि पोखरा आउन लागेको थियो ।
विमानमा ‘ए’देखि ‘डी’सम्म गरेर चार प्रकारका मर्मत हुन्छन् । सी चेक हरेक डेढदेखि दुई वर्षको अवधिमा विमानका पार्टपुर्जाको सूक्ष्म मर्मत गर्ने कार्य हो । यसमा विमानमा भएका वायर, प्रणाली र संरचनाहरू निरीक्षण गरिन्छ ।
विमानको बाहिरी भाग, तरल पदार्थको स्तर, पाङ्ग्रा, ब्रेक, इन्जिन, ल्यान्डिङ गियरसहित सबै विद्युतीय प्रणाली परीक्षण गरिन्छ । यदि कुनै सामग्री मर्मत मात्र गरेर नहुने भए त्यसलाई फेरिन्छ ।
यो जाँच गर्न एकदेखि चार हप्तासम्मको समय लाग्छ । बुधबार दुर्घटना भएको जहाज यही जाँचका लागि जम्बो प्राविधिक टोलीसहित पोखरा आउँदै थियो । ‘सी चेक’ गर्दा सबै पार्टपुर्जाको छुट्टाछुट्टै निरीक्षण गर्नुपर्छ । परीक्षण अवधिभर सबै प्राविधिक बस्नु भने पर्दैन । प्राविधिकलाई कम्पनीले नै सबै खर्च व्यहोर्छ ।
नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र नेपालगञ्ज विमानस्थलमा ‘ह्याङ्गर’ छ । ‘ह्याङ्गर’ भनेको कुनै पनि जहाजलाई निरीक्षण वा मर्मत गर्नका लागि बनाइएको छुट्टै ठाउँ हो ।
काठमाडौंमा अन्य जहाजले पनि नियमित मर्मतसम्भार गर्ने भएकाले एक महिनाका लागि ‘ह्याङ्गर’मा राखिराख्न समस्या हुन्छ । त्यसबाहेक सौर्यसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको पोखरा र नेपालगञ्जको ‘ह्याङ्गर’ विकल्प हुन सक्थ्यो ।
बुद्ध, यतीलगायत कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी ‘ह्याङ्गर’ बनाएका छन् । त्यहाँ प्राधिकरणको ‘ह्याङ्गर’ भने छैन ।
सौर्य एयरलाइन्सले नेपालगञ्ज उडान भर्दैन । त्यसैले काठमाडौंबाहिर कम्पनीले विमानको नियमित मर्मतका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘ह्याङ्गर’ रोजेको थियो । तर, मर्मतका लागि आउन लागेको जहान काठमाडौंमै दुर्घटना भएको हो ।