सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर हो । सुरूमा ‘व्योमकुट’ भनेर यसलाई पुकारिएको देखिन्छ । पछि बाबुराम आचार्यले नाम दिएका थिए, ‘सगरमाथा’ भनेर । तर यो विश्वमा त्यत्तिकै चर्चामा आएको होइन । यसका बारेमा पनि निकै खोज र अनुसन्धान भएका थिए ।
विश्व आफैमा रहस्मय छ । यसको खोज अझैं पूरा भइसकेको छैन । त्यसमध्ये एउटा रहस्यमय खोज थियो, सगरमाथाको । सगरमाथा नेपालमा हुने तर यसको अङ्ग्रेजी नाम कसरी रहन गयो, यो पनि अर्को आश्चर्यजस्तै बनिरहेको छ, धेरैका लागि ।
यसको खोजी र नामाकरणको इतिहास ब्रिटिश इष्ट इण्डिया कम्पनीसँग जोडिन्छ । यो सन्दर्भले दक्षिण एशियाली क्षेत्रमा ‘म्यापिङ साइन्स’को सुरुआत हुन थालेपछि सगरमाथा नामाकरणको सिलसिला सुरू भएको पनि देखाउँछ ।
इतिहास स्वयम्ले भन्छ, यो तथ्य । तात्कालिन अवस्थामा भारतको विभिन्न राज्यहरूमाथि जित हासिल गर्दै अघि बढिरहेका अंग्रेजलाई बैङ्गलोरमाथि आक्रमण गर्न र विजय प्राप्त गर्न गाह्रो भइरहेको थियो ।
कैयौं प्रयत्नपछि मात्र वैंलोरका शासक हैदर अलीलाई हराएर अंग्रेज विजयी बनेका थिए । युद्धमा सामेल विलियम ल्यामटन एक सर्भेयर पनि थिए । उनले त्यसै बखत सरकारलाई एउटा प्रतिवेदन बुझाएका थिए । युद्धका बखत उनले तयार पारेको नक्सा पछि सकार भयो पनि । युद्धका लागि नक्सा अनिवार्य भएकाले पनि रणनीति बनाउन र कार्यान्वयन गर्न सजिलो भएको थियो ।
विकसित युरोपमा नक्सांकनको चलन सुरु भइसकेको थियो । यसको चाहना र आवश्यकता अंग्रेजलाई भइसकेको थियो । नक्साङ्कन नगरी उपाय नभएको निष्कर्ष थियो, उनीहरूको ! पछि १० अप्रिल १८०२ मा ‘ग्रेड ट्रिगोनोमट्रिक्स सर्भे अफ इण्डिया’ खडा भयो । यसले भारत अन्तरगतका उपमहाद्वीपहरूको सबै नक्सांकन सुरु गर्यो।
नक्साङ्कन परियोजना चलिरहँदा विलियम ल्यामटनको १८२३ मा निधन भयो । यसपछि उत्तराधिकारीका रूपमा जर्ज एभरेष्ट आए । सन् १८३० मा उनी ब्रिटिश आर्मीको सर्भेयर जनरल पनि भएका थिए । उनले उत्तराखण्डदेखि अगाडिको क्षेत्रको सर्भे गर्दै आउँदा नेपालका सेता मनमोहक हिमाल देखेका थिए । उनले नै इच्छाएर यो हिमालको दर्शन र सर्भे गर्न नेपालसम्म भ्रमण गरेका थिए ।
एशियामा चीन अनेकौं उतारचढाबका बाबजुद बलशाली अस्तित्वमा आइसकेको थियो । तथापि एशियासहित विश्वमा पनि रसियन प्रभुत्व कम थिएन । पश्चिमाहरू रसियन साम्राज्यवादको सिमाना अथाह भएको विश्वास गर्थे । उनीहरूले रसियाको सीमा चीनको नजिकै र भारतको नजिकै रहेको अनुमान गर्दथे । रसियाको सिमा कहाँ छ भनी पत्ता लगाउनु उनीहरूको लागि एक असमाधेय रहस्यको समाधान खोज्नु जस्तै थियो ।
खोज बाँकी थियो, विश्वको । रसियाको बारेमा जानकारी लिनु त ठूलो कुरा थियो । तात्कालीन खोज अनुसार संसारको सबैभन्दा अग्लो हिमाल इक्यूटरमा पर्ने हिमाल रहेछ भनिएको थियो । त्यसको उचाइ जम्मा ६००० मिटर उचाइ थियो । आजको सगरमाथाभन्दा २ हजार ८ सय अठ्चालिस मिटर कम ।
त्यसपछि अर्को हिमाल पिक–एक्सपी आयो । यसको उचाइ ८८३९.८० मिटर थियो । तर पछि १८४३ मा जर्ज एभरेष्टले सगरमाथा पत्ता लगाएपछि यो नै संसारको सबैभन्दा अग्लो हिमाल कायम भयो । यसको उचाइ ८८४८ मिटर कायम गरियो । जर्ज एभरेष्टले अवकाश पाए । पछि उनैको नामबाट विश्वको अग्लो सगरमाथाको नाम पनि ‘माउन्ट एभरेष्ट’ राखियो ।
सन् १८५६ देखि एभरेष्ट लेख्न थालियो । तर यसको आधिकारिक मान्यता १८६५ को डिसेम्बरमा रोयल जियोग्राफिक सोसाइटीको बैठकबाट दिइएको थियो ।
(पत्रपत्रिकाको सहयोगमा)