• मंसिर १२ २०८१, बुधबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

श्रावण ६ २०८१, आईतवार

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार (आज) विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए ।

सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्तासमीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । नेकपा (माओवादी केन्द्र)का १० सांसद छन् । साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार–चार, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन–तीन, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका दुई–दुईजना तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्य छन् । एक स्वतन्त्र सदस्य छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका निम्ति ४४ सांसद संख्या आवश्यक पर्छ ।