काठमाडौँ । गत शुक्रबार चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ ।
१४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान खुल्न सकेको छैन ।
गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सको बस यात्रुसहित पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो ।
दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीनजनाले पौडिएर ज्यान जोगाएका थिए भने अझै ४३ जना बेपत्ता रहेको छ ।
बसमा सवार रौतहटका नन्दन दास, जुगेश्वर यादव र सरोजकुमार गुप्ताले पौडिएर ज्यान जोगाएका थिए।
अहिलेसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ।
यस्तै, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ।