काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक मोहन वैद्यले पार्टी एकता असफल भएको घोषणा गरेका सह–संयोजक धर्मेन्द्र बास्तोलालाई एकता असफल भएको घोषणा फिर्ता गर्न आग्रह गरेका छन् । बास्तोलाले साउन १ गते आफूहरुको मोहन वैद्यसितको पार्टी एकता असफल भएको घोषणा गरेका थिए ।
बास्तोलाले मोहन वैद्यसित राजनीतिक तथा वैचारिक मत भिन्नता भएकोले सँगै रहन नसकिने भन्दै पार्टी एकता असफल भएको बताएका थिए । विप्लवसित अलग भई नेकपा बहुमत पार्टी बनाएका बास्तोला त्यसपछि मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट पार्टीसित एकता गरेका थिए ।
त्यसपछि गत बैसाखमा सन्तबहादुर नेपाली नेतृत्वको नेकपा मशालसित पार्टी एकता भएको थियो । तर आगामी कात्तिकमा महाधिवेशन गर्ने घोषणा भए लगत्तै हिजो मात्र बास्तोलाले फेरि वैद्यसित पनि एकता असफल भएको घोषणा गरेका छन् ।
प्रस्तुत छ मोहन वैद्यले बास्तोलालाई पार्टी एकता असफल भएको घोषणा फिर्ता लिन र महाधिवेशनमा विचारको बहस गर्न आग्रह गरेको पत्र जस्ताको तस्तै ।
‘मोहन वैद्य अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत स्थिति बीचको अन्तरविरोधलाई समाधान गरी हामीले नेपालमा नयाँ जनवादी क्रान्तिको खुड्किलो सहित वैज्ञानिक समाजवादमा संक्रमण गर्न २०८० वैशाख १७ गते नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीचको एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरी १८ गते मई दिवसका दिन त्यसको घोषणा गर्यौं । त्यसको ठीक एक वर्षपछि २०८१ वैशाख १८ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन गरी १९ गते मई दिवसकै दिन अर्को एकताको घोषणा गरेका छौं । नेपाली कम्युनिस्ट आन्दोलनको टुटफुटबाट आजित शोषित पीडित नेपाली जनता र विश्व सर्वहारावर्गले यस एकताप्रति खुसीहुँदै आशाको नजरले हेरिरहेका छन् । गत असार ११ देखि १६ गतेसम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको दोस्रो पूर्ण वैठक संयोजक क. किरणको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त बैठकमा आगामी महाधिवेशनका लागि राजनैतिक प्रतिवेदन लगायतका विस्तृत प्रस्तावहरुमाथि समूह–बहस गरी केन्द्रीय समितिका सदस्यहरुले आ–आफ्ना सुझाव, धारणा र मतहरु पेश गरेका थिए । बैठकमा महाधिवेशनको मिति समेत निर्धारण गरी कुन–कुन विषयमा सार्वजनिक बहस गर्ने र कुन–कुन विषयमा आन्तरिक बहस गर्ने भनी निर्णय समेत लिइएको थियो । बैठकका निर्णयहरु सार्वजनिक गर्न संयोजक क.किरणले असार १८ गते पार्टी एकता अधिवेशनका दस्तावेजहरुको मर्म र मान्यता अनुसार नै एक प्रेस वक्तव्य पनि जारी गर्नुभयो । महाधिवेशनको यो प्रक्रियामा प्रवेश गरिसकेपछि हिजो श्रावण १ गते पार्टीको सह संयोजकको हैसियतमा रहेका क.कञ्चनद्वारा हस्ताक्षरित “एकता असफलताबारे” विषयको पत्र लेखी “हामी बीच १५ महिना अघिको एकता कायम रहन नसक्ने निष्कर्षमा पुग्न हामी बाध्य भएका छौं” भनी केन्द्रीय कार्यालयमा बुझाइएको र सार्वजनिक प्रेस वक्तव्यमा “एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौं” भन्ने विषयप्रति पार्टी केन्द्रको गंभीर ध्यानाकर्षण भएको छ । कमरेड कञ्चन र उहाँको विचारसँग सम्बन्धित कमरेडहरुलाई महाधिवेशनको प्रक्रिया सुरु भइसकेको स्थितिमा नयाँ जनवाद र वैज्ञानिक समाजवाद लगायतका विभिन्न विषयहरुमाथिको बहसमा सहभागी हुँदै तथा आवश्यक संश्लेषण गर्दै महाधिवेशन सफल पार्न आग्रह गर्दछौं । आफ्नो मतलाई स्थापित गर्न पूर्ण जनवादको प्रयोग गर्दै विचारधारात्मक संघर्ष गर्नुको साटो मैदानबाट भाग्ने कार्यले क्रान्तिकारी कम्युनिस्ट एकतालाई बाधा र दक्षिणपन्थी संशोधनवादीहरुलाई सहयोग पुग्न जान्छ । त्यसकारण, पार्टी एकताको महत्वलाई विशेष गंभीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरुलाई विशेष आह्वान गर्दछौं । यसका साथै, समग्र पार्टी पंक्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध बनाइराख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्दछौं ।’