काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना तथा बधाइ दिनेको ओइरो लागेको छ । बधाई दिने क्रममा आफूलाई खादा तथा मालाको प्रयोग नगरिदिन आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना तथा बधाई दिन आग्रह गरेका हुन् ।
उनले शुभेच्छुकहरूलाई सकेसम्म मेसेन्जरमार्फत सन्देश पठाउन र भेटघाटमा खादा/मालाको प्रयोग नगर्न अनुरोध गरेका हुन् ।
विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शुभकामना र बधाइका लागि व्यक्तिगत रूपमा भेट्नु भन्दा डिजिटल मिडिया मार्फत अभिवादन गर्दा यसले साथीहरूको समय समेत बचत हुने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘शुभ प्रभात ! विभिन्न विभिन्न माध्यमबाट बधाई तथा शुभकामना सन्देश आइरहेका छन् । प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा र माला प्रयोग नगर्न अनुरोध गर्दछु ।’