• जेष्ठ २ २०८३, शनिबार

उच्च अदालत तुलसीपुरबाट १ वर्ष नाघेका सबै मुद्दा फैसला

श्रावण १ २०८१, मंगलवार

काठमाडौं । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा एक वर्ष नाघेका सबै मुद्दाको फैसला भएका छन । गएका वर्षहरूमा दुई वर्ष नाघेका समेत मुद्दाहरू फैसला गर्न बाँकी रहने अदालतमा गत आर्थिक वर्ष २०८०–८१ मा १ वर्ष नाघेका मुद्दाहरू शून्य रहेको अदालतका रजिष्ट्रार प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि आर्थिक वर्ष २०७९–८० मा १ वर्ष अवधि नाघेका ३०४ र १८ महिनादेखि २ वर्ष भित्रका ७४ वटा मुद्दा फैसला गर्न बाँकी थिए । त्यसअघि पनि आर्थिक वर्ष २०७८–७० मा १ वर्ष अवधि नाघेका २२८, १ वर्षदेखि १८ महिनाभित्रका ७५ र २ वर्ष अवधि नाघेका १५ वटा मुद्दा फैसला हुन सकेका थिएनन् ।

गत आर्थिक वर्षमा अभियान नै चलाएर १ वर्ष नाघेका मुद्दाहरू फैसला गर्न सकिएको अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीले जानकारी बताए । पुरानो र जिर्ण भौतिक संरचनाका बीचमा पनि टिमवर्कका कारण अदालतबाट लक्ष्य भन्दा बढी मुद्दा फैसला गर्न सकिएको तिवारीले दावी गरे ।

२०७३ साल भदौदेखि पुनरावेदन अदालत विघटन गरी उच्च अदालत तुलसीपुर बुटवल इजलास स्थापना गरिएको भए पनि अदालतको काम कारवाही भने २०४३ सालमा निर्माण गरिएको पुरानो र साँघुरो भवनबाटै भइरहेको छ । यद्यपि गत आर्थिक वर्षमा लक्ष्यभन्दा २२.९ प्रतिशत बढी मुद्दा फैसला गरिएको मुख्य न्यायाधीश तिवारीले बताए ।

तिवारीका अनुसार अब गत वर्षका ८५७ वटा फैसला गर्न बाँकी रहेको र ती सबै ६ महिना भित्रका छन । गत आर्थिक वर्षमा २ हजार ४८० मुद्दा फैसला गर्ने अदालतले लक्ष्य लिएको थियो । लिएको लक्ष्यभन्दा ५६९ मुद्दा बढी फैसला भएका छन् ।