काठमाडौँ —काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । उच्च अदालत पाटनले आइतबार आदेश जारी गर्दै काठमाडौं महानगरको मागबमोजिम फुटपाथ विस्तार गर्न अदालतका न्यायाधीद्वय धुव्रराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाको पक्षमा आदेश दिएको हो । महानगरले न्यूरोडको सडकलाई पैदलयात्रीमैत्री बनाउन ठेक्कामार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते सडक डिभिजन, काठमाडौंले कालोपत्र गरेको थियो । त्यसपछि महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
काठमाडौं महानगरले न्यूरोडमा मानिसहरुको चाप बढेको भन्दै पार्किङमा प्रयोग भएको सडक पार्किङ हटाएर फुटपाथ बनाउन थालेको थियो । तर सडक विभागले सडकको न्यूनतम मापदण्डअनुसार उक्त बनेको सडक भत्काएर त्यसको ठाउँमा फुटपाथको लम्बाइ लम्ब्याउँदा सडक साँधुरो हुने भएकाले त्यस्तो नगर्न काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो ।
तर काठमाडों महानगरपालिकाले न्यूरोडको पार्किङमा प्रयोग भएको केही सडक महानगरले फुटपाथ बनाउन भन्दै सडक भत्काएको थियो । तर सडक विभागले त्यस्तो काम अहिलेको सडक निर्माणको नियम विपरीत भएको भन्दै पहिलेकै यथास्थितिमा सुधार गर्न काठमाडौं महानगरलाई पत्र काटेको थियो ।