काठमाडौं । चितवनस्थित त्रिशूली नदीमा भएको बस दुर्घटनामा खोज तथा उद्धारका लागि फौजको संख्या बढाइएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित १ सय ६ जना, नम्बर ३ गढिमाई बाहिनी र नम्बर १७ गण चितवनबाट डीएसपीको कमाण्डमा त्रिशूली र नारायणी नदीको विभिन्न ठाउँमा १ सय १३ जना खटाइएको छ ।
यसैगरी नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट गैँडाकोट, मध्यविन्दु र देवचुलिका विभिन्न ठाउँमा ४१ जनासहित जम्मा २ सय ६ जना र यसअघि प्रयोग गरिएका सबै उपकरणसहित सातवटा र्याफ्ट बोट, एक मोटरबोट र एक कायाकसमेत परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको छ ।
शुक्रबार बिहान सिमलतालमा दुई बस पहिरोले बगाउँदा ६५ जना बेपत्ता भएका छन् । उनीहरूमध्ये पाँच जनाको शव भेटिएको छ भने तीन जनाको मात्रै सनाखत भएको छ ।