काठमाडौं । ५ किलो लागु औषध कोकिनसहित एक जना मलेसियन नागरिक पक्राउ परेकी छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २९ ठमेलस्थित एक होटलबाट मलेसियन नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । लागुऔषधको कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।
सूचनाको आधारमा खटिएको परिसर र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले काठमाडौं सिटी होटलमा छापा मारेको थियो । त्यहाँ प्रहरीले मलेसियाकी ४७ वर्षीया महिला बथुमलाई भादिभालोलाई फेला पारेको थियो । उनको कोठामा ६ वटा स्कुल ब्याग फेला परेको थियो । जसभित्र फल्स बटम बनाइएको थियो ।
फल्सबटम हेर्दा कोकिन बरामद भएको एसपी अधिकारीले जानकारी दिए । ती महिलाबाट ५ किलो ८२० ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ । उक्त कोकिन अवैध बजारमा २० करोड ३७ लाख बराबरको हुने प्रहरीले जनाएको छ ।
एसपी अधिकारीका अनुसार उनी मलेसियाबाट लाओस र बैंकक हुँदै १३ जुलाइ (शनिबार) काठमाडौं आइपुगेकी थिइन् । उनी १९ जुलाइमा नेपालबाट पुनः मलेसिया फर्किँदै थिइन् । त्यसैबीच प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।
यो कोकिनको बजार पनि भारतनै भएको प्रहरीले जनाएको छ । उनले लाओसबाट उक्त कोकिन रिसिभ गरेकी थिइन् । काठमाडौंलाई ट्रान्जिट बनाएर अर्कै व्यक्तिलाई हस्तान्तरण गर्ने योजना थियो । भारतबाट एक जना उक्त कोकिन लिन आउने तयारी थियो । तर त्यसैबीच उनी पक्राउ परेकी हुन् ।