नेपालगञ्ज । बाँकेमा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । गएराति नेपालगञ्ज उपमहानगरपालिका-११ टाँगा स्टेसन नजिक दुई समूहबीच झगडा भइरहँदा छुट्याउन गएका स्थानीय ३० वर्षीय इसाद राई र नेपालगञ्ज उपमहानगरपालिका-९ बाँके गाउँका १९ वर्षीय फैजन अन्सारीमाथि खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई भेरी अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
फैजनको भने उपचार जारी छ । एसपी कार्कीका अनुसार राति ११ बजे सडक छेउमा दुई समूहबीच झगडा भइरहँदा उनीहरू छुट्याउन भनेर भीडभित्र छिरेका थिए । त्यही क्रममा खुकुरी प्रहार भएको हो ।
खुकुरी कसले प्रहार गरेको भन्ने खुलेको छैन । झगडा गर्ने दुई समूहका सबैजना फरार रहेको पनि एसपी कार्कीले बताए ।
घटनाको खबर पाउनासाथ एसपी कार्कीको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेर दुई जना घाइतेलाई उद्धार गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि पुर्याएको थियो ।
अस्पताल पुर्याउनसाथ साथ राति ११ बजेतिर चिकित्सकले राईलाई मृत घोषणा गरेका थिए । अन्सारीको छाती, बाँया कान र बाँया हातमा खुकुरी प्रहारबाट घाउ खत लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।
खुकुरी प्रहारमा संलग्न व्यक्तिहरू फरार रहेको तथा उनीहरुको खोजी कार्य जारी रहेको एसपी कार्कीले बताए । घटनाबारे थप अनुन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।