• जेष्ठ २ २०८३, शनिबार

सिमलताल पहिरो : गोलाघाटमा भेटियो एक यात्रुको शव

असार २९ २०८१, शनिबार

काठमाडौं । त्रिशूली नदीमा खसेको बसमा रहेका एक यात्रुको शव फेला परेको छ । शनिबार बिहान भरतपुर महानगरपालिका –२८ गोलाघाटस्थित नारायणी नदी किनारमा एक पुरूषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

मृत भेटिएका युवक ऋषिपाल साह रहेको डिएसपी रिजालले जानकारी दिए । मृतक घोप्टो परेको र आधा शरीर बालुवामा गाडिएको अवस्थामा भेटिएका छन् । उनको साथमा भेटिएको ग्लोबल आइएमई बैंकको भिसा डेविट कार्डबाट नाम खुलेको हो । उनी कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन ।

प्रहरीले मुचुल्का गरेर शव जिल्ला अस्पताल भरतपुर लगेको छ । ‘ग्लोबल आइएमइ बैंकसँग समन्वय भइसकेको छ । त्यहाँबाट थप परिचय सबै थाहा हुन्छ,’ डिएपसपी रिजालले भने ।मुग्लिन–नारायणघाट सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोसँगै बस बगाउँदा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन् ।

शुक्रबार खोजी कार्य गरिएपनि त्रिशूलीमा पानीको वहाब बढेकाले कठीन भएको थियो । शनिबार बिहान पानीको वहाब पनि कम भएकाले खोजी कार्य प्रभावकारी हुने डिएसपी रिजालले बताए । शनिबार सशस्त्र प्रहरीले सोनार क्यामेरा, वाटर ड्रोन प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको छ ।

वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलतालमा शुक्रबार बिहान साढे ३ बजे त्रिशूली नदीमा खसेको थियो ।