• मंसिर १२ २०८१, बुधबार

संविधान छुनै नहुने, पाठ गरेर मात्रै राख्ने हो : रमेश लेखक

असार २९ २०८१, शुक्रबार

काठमडााैं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान छुनै नहुने, पाठ गरेर मात्रै राख्ने हो भन्दै प्रश्न गरेका छन् । शुक्रवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने छलफलमा बोल्दै उनले सो प्रश्न गरेका हुन् ।

लेखकले सोधे–‘के संविधान छुनै नहुने हो ? पाठ गर्नका लागि लेखिएको पुस्तक हो ?’ कांग्रेसले १० वर्षे युद्धको व्यवस्थापन र लोकतान्त्रिक गणतन्त्र कांग्रेसले ल्याएको बताउँदै उनले जबसम्म कांग्रेस रहन्छ तबसम्म शङ्का नगर्न समेत आग्रह गरे ।
लेखकले भने, ‘कतिपय कमरेडहरूले संविधान संशोधन पश्चगमन देख्नुहुन्छ । यो प्रश्चगमन हैन, अग्रगमन हो । कांग्रेसले १० वर्षे युद्धको व्यवस्थापन र लोकतान्त्रिक गणतन्त्र कांग्रेसले ल्याएको हो, जबसम्म कांग्रेस रहन्छ तबसम्म शङ्का नगर्दा हुन्छ ।’

उनले संविधान गतिशील भएकोले आवश्यक अनुसार संशोधन हुनसक्ने समेत बताए । समावेशिता, सङ्घीयता, गणतन्त्र, समानुपातिक प्रणालीलाई कमजोर बनाइन्छ कि भन्ने भाष्य सिर्जना नगर्न समेत उनले आग्रह गरे ।

लेखकले संविधानको धारा २६५ ले यस भागमा लेखिएको विषयहरूका बारेमा १० वर्षपछि पुनरावलोकन गर्नु भन्ने व्यवस्था रहेको उल्लेख गरे । उनले संविधानका विषय लागू गर्दै जाँदा कहाँ सहज, कहाँ जटिल रह्यो भनेर मूल्याङ्कन गर्नु कहाँ बेठीक हुन्छ भन्दै प्रश्न गरे । संविधान सर्वस्वीकार्य भएन भने संविधान कमजोर हुने र दुई पार्टी मिलेर मात्र संशोधन गर्ने नभनेको समेत बताए ।