काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने भएका छन् । आज दिउँसो ३ बजे कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आफ्ना अध्यक्षले विशेष सम्बोधन गर्ने माओवादीले जनाएको छ ।
उनको सम्बोधन पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे हुने माओवादी केन्द्रको सन्देशमा उल्लेख छ । यसअघि एमाले र कांग्रेसलाई पालैपालो आफ्नो समर्थनमा तान्ने गरेका प्रधानमन्त्री प्रचण्डलाई यसपल्ट दुवै पार्टी मिलेर संकटमा पारिदिएका छन् ।
उनले आज शुक्रबार नै संसदबाट विश्वासको मत लिने संसद बैठकको सम्भावित कार्यसूचीमा उल्लेख छ । संसद्मा प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्कापक्की छ । संसद बैठक भर्खरै सुरु भएको छ । संसद बैठकलगत्तै प्रचण्डले पार्टी कार्यालयमार्फत सम्बोधन गर्ने भएका हुन् ।