• जेष्ठ २ २०८३, शनिबार

सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चारमाध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग नियमन पनि काउन्सिलको दायरामा पर्ने

असार २७ २०८१, बिहीबार

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले  काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चारमाध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रस्ट पारेका छन् ।

परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकार/सञ्चारकर्मीको व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसङ्गतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने बताएका छन् ।

प्रेस काउन्सिल नेपालद्वारा बिहीबार आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने भएपनि पत्रकारले समेत सीमामा बसेर लेख्नुपर्ने धारणा राखे ।

स्रोतसाधनको सीमितता हुँदाहुँदै पनि काउन्सिलले काम गरिरहेको उनले बताए । उनले भने, ‘आफ्नो ठाउँबाट एक कदम बढेर पनि काउन्सिलले काम गरिरहेको छ ।’

काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धनमा संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतको भनाइ थियो । जिम्मेवार निकायले आ–आफ्नो भूमिका निर्वाह गर्दा प्रेस स्वतन्त्रता हननका घटना नदोहोरिने सुनिश्चितता हुने उनले बताए ।

मिडिया पीडितलाई न्याय दिलाउने संस्थाका रूपमा काउन्सिल रहेको र समाचार लेखेकै आधारमा अप्ठेरो अवस्था सिर्जना गर्न नहुने उनको भनाइ छ । अब न्युज रूमले पनि आन्तरिक आचारसहिंता बनाएर स्वनियमन प्रणालीको विकास गर्नुपर्ने उनको सुझाव छ ।