• जेष्ठ २ २०८३, शनिबार

मनोरञ्जन क्षेत्रमा यौन हिंसा हुने गरेको प्रहरीको दाबी

असार २७ २०८१, बिहीबार

काठमाडौं । मनोरञ्जनका क्षेत्रमा आबद्ध युवायुवती यौन शोषण, बाध्यात्मक श्रम र हिंसा व्यहोर्न बाध्य भएका प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाल प्रहरीको मानब बेचबिखन तथा अनुसन्धान ब्यूरोले चालु आर्थिक वर्षको हालसम्म मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने १९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा सञ्चालित डान्सबार, रेष्टुरेन्ट तथा गेष्टहाउसमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रहरीले रातोपुल, गोङ्गबु, ठमेल, गौशाला, ललितपुर, चाबहिल, जडीबुटी, शिवचोक, तारकेश्वर, जोरपाटी, दीपज्योति, माछापोखरी, मित्रपार्क र नारायणटारलगायत क्षेत्रबाट निजहरूलाई पक्राउ गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

ब्यूरोको आयोजना तथा महिला सशक्तीकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा क्रियाशील अनाहत नेपाल संस्थाको समन्वयमा सम्पन्न ‘आन्तरिक मानव बेचबिखनका नयाँ आयाम’सम्बन्धी कार्यक्रममा मनोरञ्जन क्षेत्रमा वेश्यावृत्तिमा लगाउने आठ पुरुष र ११ महिलालाई पक्राउ गरिएको जानकारी दिइएको हो ।

ब्यूरोको तथ्याङ्कअनुसार आन्तरिक बेचबिखन तथा वेश्यावृत्तिका घटनामा १५ पुरुष र ४४ महिला गरी ५९ जना पीडित देखिएका छन् । पछिल्लो तीन वर्षमा मानव बेचबिखनमा संलग्न पाँच सय २१ जना पक्राउ परेका ब्यूरोले जनाएको छ ।