काठमाडौं । स्पेन युरोकप फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान जर्मनीको एलियान्ज एरिनामा फ्रान्सलाई २–१ गोलले पराजित गर्दै स्पेन युरोकपको फाइनल प्रवेश गरेको हो ।
फ्रान्सलाई पराजित गर्न स्पेनका ल्यामिन यमल र ड्यानी ओल्मोले गोल गरे । त्यसअघि रान्डल कोलो मुआनीले ८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए ।
त्यसपछि २१औं मिनेटमा स्पेनका ल्यामिन यमलले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । २५औं मिनेटमा ड्यानी ओल्मोले गोल गरेपछि पहिलो हाफमा फ्रान्स पछि परेको थियो । दोस्रो हाफमा कुनैपनि गोल नहुँदा स्पेन विजयी भएको हो ।
जारी युरोकपमा स्पेन अपराजित छ । समूह चरणमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित गर्दै समूह विजेता बनेर स्पेन अन्तिम १६ मा पुगेको थियो । अन्तिम १६ मा जर्जियामाथि ४ गोल गर्दै क्वाटरफाइनलमा पुगेको थियो ।
क्वाटरफाइनलमा जर्मनीलाई २–१ गोलले हराउँदै स्पेनले सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो । स्पेनले भोलि हुने इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेलनेछ । युरोकपको फाइनल खेल आगामी सोमबार हुनेछ ।