• आश्विन २० २०८१, आईतवार

बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

असार २५ २०८१, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाढीपहिरोबाट प्रभावितको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्रीले जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका हुन् ।

बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीले विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रियतापूर्वक काम गर्नुपर्नेमा जोड दिए।

“विपद् व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ। उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मेहेनत गरेका छौँ,” प्रधानमन्त्रीले भने, “यस वर्ष विपद्बाट ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जीउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ।”