• आश्विन १९ २०८१, शनिबार

दूषित पानीका कारण देखिने रोगहरू, कसरी बच्ने ?

असार २४ २०८१, आईतवार

बर्षाको समयमा धेरैजसो खानेपानी दूषित भेटिन्छ । जताततै फोहोर र हिलो हुने हुनाले हामीले खाने पानीमा समेत संक्रमण हुने गर्दछ । दूषित पानी प्रयोग गर्दा सुरुमा बान्ता हुने, पेट दुख्ने, झाडापखाला लाग्ने हुन्छ । झाडापखाला गराउने भाइरस तथा ब्याक्टेरियाले हैजा, टाइफाइड हुन सक्छ ।

झाडापखाला
दूषित पानीका कारण यो मौसमा देखिने मुख्य सरुवा रोग झाडापखाला हो । बर्षाको समयमा हामीले खाने धेरैजसो पानी दूषित हुने हुदाँ झाडापखाला देखिने गर्छ । झाडापखालाबाट विशेष गरी बालबालिका बढी प्रभावित हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा। अमरनाथ ठाकुर बताउँछन् ।

शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखाला धेरै देखिने गर्छ । यस मौसममा खाने पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म मिसिने हुँदा झाडापखाला धेरै देखिने गरेको उनको भनाइ छ ।

टाइफाइड
मनसुनको बेला धेरैमा टाइफाइट ज्वरो संक्रमण हुन्छ । साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहमा धेरै खालका जीवाणु हुन्छन्‌ ।

तर टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाइड र प्यारा टाइफाइडका जीवाणुहरू भेटिन्छन् । दूषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरू देखिन्छ ।

यो रोगबाट बढी मात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरू प्रभावित हुने गरेको देखिएको छ । मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । रिङ्गटा लाग्ने, वाकवाकी लागि कसैलाई बान्त पनि हुने, शरीर गल्ने र खान मन नलाग्ने लक्षणहरू देखिने गर्दछन् ।

हेपाटाइटिस ए, बी
हामीले खाने खाद्यान्न र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइटिस ए, बी अर्थात जन्डिस हो । बासी खाने कुरा र दूषित पानीले धेरैमा जन्डिस निम्त्याउँछ ।

शरीरमा पानी मात्रा कम हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाँदा पनि धेरैलाई जन्डिस देखिने गर्छ । सुरुमा ज्वरो आउने र शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हो ।

आउँ र हैजा
हामीले खाने दूषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ तथा हैजा देखिने गर्छ ।

पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपूर्ण अङ्गहरूले काम गर्न छोड्ने जस्ता समस्या निम्तिन्छ ।

जसकारण यस मौसममा आउँबाट बच्न हामीले खाने पानीलाई उमालेर पिउने गर्नुपर्छ । यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गर्न सकिन्छ । पानीलाई कम्तिमा पनि एक मिनेटसम्म उमालेर खाने गर्दा यस्ता रोगहरूबाट बच्न सकिने चिकित्सक सुझाउँछन् ।