• आश्विन २० २०८१, आईतवार

देशभर आज पनि भारी वर्षा

असार २४ २०८१, आईतवार

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्‍चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानमा भारीदेखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि अति भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति पनि मौसम साधारणतयादेखि पूर्णतया बदली रहने छ ।
महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सबैमा अनुरोध गरेको छ ।
यस्तै, दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई सेवामा समेत आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।