• आश्विन १९ २०८१, शनिबार

मुकुल ढकाललाई कारबाही गरेर रवि लामिछानेले निरङ्कुशता देखाए : भीम रावल

असार २३ २०८१, शनिबार

काठमाडौं । एमाले नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इङ्गित गर्दै सो पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरङ्कुशता देखाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले आजभोलि राजनीतिक दलहरूमा प्रश्न सोध्न पनि नपाइने गरेको बताएका हुन् ।

उनले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निष्कासित गरिएको बताए । उनले भयङ्कर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताए । उनले रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरेपनि सरकारमा आउँदा त्यस्तो नभएको बताए ।

उनले नागरिकता, राहदानी दुई/दुई वटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताए । उनले लामिछानेलाई सो पदमा राख्नेहरू पनि उत्तिकै जिम्मेवार रहेको बताए । नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठुला राजनीतिक दलका ठुला नेता आफै लागेको रावलको भनाई थियो । सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको उनले जिकिर गरे ।

उनले भने, ‘हुन त आजकाल सोध्न पनि पाइँदैन । भर्खर एउटा नयाँ पार्टी आएको उनकै महासचिवले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछ । भन्ने बेला भयङ्कर लोकतन्त्र हामी । ए यस्तो लोकतन्त्र । त्यो स्वर टेलिभिजनमा सुन्दा त मानौँ की नेपाल नै उथलपुथल भएर अलोकतान्त्रिक भन्ने कुरा जम्मै धर्ती मुनि पस्ला जस्तो । भरे माथि सतहमा आउँदा नागरिकता हेरे दुई वटा, राहदानी हेर्दा दुई वटा, अरू के तीन वटा । त्यसपछि गएर ठगी । अनि निजलाई देशको सम्पूर्ण जिम्मा । म खालि रवि लामिछानेजीलाई मात्रै भन्न चाहन्न । उहाँलाई त्यहाँ राख्ने पनि उत्तिकै जिम्मेवार छन् ।’

नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुला ठुला सैनिक जहाज आएको दाबी गरे ।