काठमाडौं । दाङको लमहीमा राप्ती नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । दुई जनाको भने उद्धार भएको छ । जिल्लाको राजपुर गाउँपालिका – २ का १९ वर्षीय राजकुमार यादवलाई राप्तीको बाढीले बगाउँदा बेपत्ता छन् ।
इलाका प्रहरी कार्याल अमेलिका प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बेपत्ता युवकको खोजीको प्रयास जारी रहेको बताए । एकाबिहानै राजपुरबाट राप्ती नदी तरेर दूध बेच्न लमही आएका उनलाई फर्किने क्रममा बाढीले बगाएको हो ।
उनीसंगै रहेका ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने उद्धार भएको छ । नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई उद्धार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
‘बाढी आउँदा दुइ जना रुखमा चढ्नु भएछ,’ श्रेष्ठले भने ‘बेपत्ता युवकले रुख समात्न नपाउँदै बगाएको भन्ने छ ।’ दूध बेचेर संगै घर फर्किने क्रममा लमही नगरपालिका – ७ हस्नापुर नजिकबाट राप्ती नदी तर्ने क्रममा बाढी आएका कारण एकजना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।