• आश्विन १९ २०८१, शनिबार

नेपाल मगर युवा संघको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न

असार २२ २०८१, शुक्रबार

काठमाडौं । नेपाल मगर युवा संघको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले मगर युवा संघकोे चौथो महाधिवेशनको पूर्ण सफलतको कामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राध्यापक रामबहादुर थापाले मगर समुदायका धेरै नेताहरु सरकारी सुविधा सम्पन्न पदहरुमा पुगिसकेकोले आज मगरहरुको अधिकार प्राप्तिको आन्दोलन कमजोर भएको हो कि भन्ने आशंका पैदा भएको बताए ।

मगर समुदायबाट देश तथा विदेशमा पुग्न सफल भएको र विदेशमा समेत सम्पति राख्न सफल भएकोमा गर्व गरिन्छ तर हामी नेपालमा भएका मगरको हालत भने नयनीय किन छ भन्दै उनले प्रश्न उठाए ।

सोही अवसरमा बोल्दै अन्तराष्ट्रिय मगर महासंघका अध्यक्ष नवीन रोकामगरले नेपालमा मगरहरुले अझै पनि राजनीतिक, आर्थिक र सांस्कृतिक अधिकार प्राप्त गरि नसकेकोले यो समुदायभित्रका युवाहरु सिंगो मगर जातिकै अधिकारको लागि एकजुट हुनुपर्नेमा जोड दिए । सो अवसरमा बोल्दै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले मगर समुदायभित्रको एकतालाई सुदृढ बनाइराख्नेमा मगर युवाहरुको हात रहेको बताए ।

एमाले सांसद यमुना रोकामगरले हिजोको सोच र क्षमताले नपुग्ने भएकोले आजको र आवश्यकता अनुसार मगर युवाहरुले पनि सोच बदलेर अगाडी बढ्नु पर्ने बताइन् ।

जनजाति नेता झबिन्द्रबहादुर पुनमगर मगर युवा संघको महाधिवेशनबाट नेपालका आदिवासी जनजाति मगर समुदायको हितको लागि काम गर्ने उत्साह पैदा गरोस् भन्ने अपेक्षा गरे ।

अर्का वक्ता कृष्ण थापामगरले युवा भनेको राजनीति लगायत धेरै क्षेत्रमा अगाडी आउने शक्ति भएकोले आज देखि नै सशक्तरुपमा अगाडी आउनु पर्ने बताए । अर्का वक्ता तथा नेकपा माओवादी केन्द्रका नेता गणेशमान पुनमगरले उत्पीडित जातीय संगठनहरुले कर्मकाण्डको रुपमा मात्र कार्यक्रम गर्ने भन्दा पनि जनताकोमा गएर खास समस्याहरु पत्ता लगाइ नयाँ कार्यक्रमहरु बनाएर अघि बढ्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाल मगर युवा संघका अध्यक्ष जयप्रकाश बुढामगरले अगाडीका दिनहरुमा अधुरा रहेका कार्यक्रमहरुलाई पूर्णता दिएर आफ्नो संगठन अगाडी जाने बताए । उनले मगर युवाहरु देश र विदेश जहाँ भए पनि र नेपालमै पनि जुन जुन संगठनमा भएको भएपनि समग्र मगर जातिको हितमा काम गर्न एकजुट हुनुपर्नेमा जोड दिए ।

तस्वीरहरू : पुस्त थापामगर