काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा भएको माध्यामिक शिक्षा परीक्षा (एसईई)- २०८० को नतिजा आज सार्वजनिक गरेको छ ।
नतिजाअनुसार, ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।
बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको भए पनि केही प्राविधिक काम बाँकी रहेपछि आज नतिजा प्रकाशन गरेको हो ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरेको जानकारी दिए ।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडिङ (एनजी) उल्लेख गरिने भएको छ ।
परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।
नतिजा हेर्ने तरिका
आफ्नो मोबाईलको 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞 𝐁𝐨𝐱 मा गइ 𝐒𝐄𝐄<space> 𝐒𝐲𝐦𝐛𝐨𝐥 𝐍𝐮𝐦𝐛𝐞𝐫 लेखि ३४९४९ मा 𝐒𝐌𝐒 पठाई 𝐒𝐄𝐄 २०८० को नतिजा हेर्न सक्नुहुने छ ।