नेपालको संविधान २०७२ ले छेत्री, बाहुन, ठकुरी र दशनामी समुदायलाई ‘खस-आर्य’ नामको कलस्टरमा राखेको छ । यसरी खस जातिलाई आर्य समुदायसँग जोडेर खस-आर्य भनि एउटै कलस्टर बनाउँदा कतिपयमा खस र आर्य एउटै जाति हुन् की भन्ने भ्रम परेको छ । संविधान लेखनको बेला गरिएको जालझेल गरिएका कारण खसहरुले आफूले पाउनु पर्ने संवैधानिक अधिकारबाट समेत ठगिनु परेको छ । खस-आर्यको नाममा प्रदेश र संघमा छुट्याइएको सांसदको कोटामा खस जातिले आफ्नो न्यायोचित भाग पाउन सकेको छैन ।
खस र आर्यको लागि निर्वाचन ऐनमा ३१.२ प्रतिशत समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था गरेको छ । कुल जनसंख्याको १६.४ प्रतिशत जनसंख्या रहेको खसले निर्वाचन ऐनले व्यबस्था गरेको ३१.२ प्रतिशत कोटामा अहिलेसम्म आफ्नो जनसंख्या अनुसारको हिस्सा पाउन सकेको छैन । १६.४ प्रतिशत जनसंख्या रहेको खसले ५ प्रतिशत भन्दा माथि आफ्नो प्रतिनिधित्व नपाउनुको कारण खस र आर्यलाई एउटै टोकरीमा हाल्नु नै हो । जसले गर्दा प्रभुत्वशाली समुदायले अप्रभुत्वशाली समुदायको हुर्मत लिने काम भैरहेको छ ।
खस नेपालको आदिवासी/मुलवासी Indigenous people हो । जसको आफ्नै खस भाषा छ, आफनै खरोष्टी लिपी, मष्ट परम्परा (सँस्कृति/धर्म), भुवो, देउडा, पुषे भैलो, भाई पिठायो, तागा, बिशु तिहार, मष्टको पैठ, मष्टको जाँत, देवाली, गैंडु गोसाइ पूजा, दसैंको दैचल लगाउने जस्ता संस्कृति खसहरुका संस्कृति हुन् भने ऐतिहासिक थातथलो खस साम्राज्य (खसान) खसहरुको भूमी हो । खसहरु नेपालमा मात्र होइन भारत, तिब्बत, भुटान, बर्मा, थाइल्याण्ड लगायतका देशहरुमा लामो समयदेखि बसोबास गर्दै आएका छन् भने अहिले रोजगारीको सिलसिलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, रुस जस्ता मुलुकहरुमा पनि स्थायी बसोबास गर्न थालेका छन् ।
भारतको जम्मु-कश्मिरको रजोरी जिल्लामा खसहरुको जनसंख्या दुई लाख भन्दा बढी रहेको पाइेको छ । रजोरी कुनै बेला स्वतन्त्र देश थियो । कम्बोज जातिको शासन पछि त्यस देशमा खस जातिले शासन गरेको इतिहासमा उल्लेख छ । भारतीय लेखक दिनेशचन्द्र सरकारले खसहरुलाई हिमालका निवासी र आधुनिक कश्मिरी र खक्का जातिका पूर्वज भनि लेखेका छन् । आइरिस इतिहासकार सर मार्कऔरल स्टाइनले पण्डित कल्हणको १२औँ शताब्दीको राजतरङ्गिणीको अनुवाद गरेका थिएँँ । उक्त अनुवादमा ‘राजापुरी (वर्तमान राजौरी)को शासक खसहरूका मुखिया थिए ।’ भन्ने वाक्य वर्णित छ ।
प्रथम शताब्दीका कुषाण वंशी सम्राट कनिस्क पनि खस नै भएको इतिहासकारहरुले उल्लेख गरेका छन्, जसको राज्य हालको कश्मिर, पाकिस्तान, अफ्गानिस्तानदेखि फारससम्म फैलिएको थियो भने उनको राज्यको राजधानी पेशावर (वर्तमान पाकिस्तान) मा रहेको थियो, उनै कनिस्कको संरक्षणत्वमा चौथो बौद्ध भिक्षुहरुको संघायान भएको थियो । यही सम्मेलनबाट बौद्ध धर्म महायान र हिनयान भनि दुई भागमा विभाजन भएको थियो । रजौरी क्षेत्रमा खसको अर्थ सभ्य जाति वा राजा जाति भनि लगाइएको छ । रजोरी क्षेत्रमा बोलिने भाषालाई खह भाषा भनिन्छ यही खह भाषामा ‘ख’ को अर्थ जाति र ‘स’को अर्थ सभ्य वा राजा हुन्छ ।
इतिहासकार बाबुराम आचार्यले पनि खस शब्दको अर्थ राजा वा योद्धा हुन्छ भनेका छन् । रजोरी क्षेत्रमा भेटिएका खस जातिका थरहरु कटवाल, रावत, बोहरा जस्ता थरहरु नेपालका खसहरुसँग पनि मिल्दछन् । खस शब्दको ‘स’ मोटो श, पेट चिरेको ष र पातलो स यी तीन वटै स लेखेको पाइन्छ । जस्तो खस, खश र खष । यी तीन वटै स मध्ये कुन स लेख्नु ठीक हो भन्ने बारेमा पनि चर्चा हुने गरेको छ । खस जातिका बारेमा प्राय ऐतिहासिक दस्तावेजहरुमा दन्ते ‘स’ र तालब्य ‘श’ लेखेको पाइन्छ भने कतै कतै पेट चिरेको ष पनि लेखेको भेटिन्छ । खस राजा अशोक चल्ललाई उनका दशरथका कृपापात्र सहण पालले ‘सपाद्लक्षशिखरी खसदेव राजाधिराज’ भनेका छन् भने नेपालका पुराना लिखतहरुमा पनि दन्ते ‘स’ नै प्रयोग भएको पाइन्छ । हिन्दू शास्त्र मनुस्मृति लगायतका ग्रन्थहरुमा मोटो ‘श’ र दन्ते ‘स’ दुबै लेखिएको पाइन्छ, जस्तै-
‘झल्लो मल्लश्च राजन्याद् व्रात्यान्निच्छिविरेबच !
नटश्च करणश्चैव खसो द्रविड एव च ।
मनुस्मृति (१० : २२)’
पौण्डृकाश्चौडृ द्रविडा : काम्बोजा यवना : शका
पारदा पल्हवाश्चीना : किराता दरदा : खशा
“अतोदेशान-प्रवक्ष्यामि पर्वतश्रयिनाश्च्ये
निहारा हंसभार्गाश्च कुरभे तुंगनः खशः-ब्रह्मपुराण
यसरी ब्रह्मपुराण र मनुस्मृतिमा पनि मटो ‘श’ र पातलो ‘स’ लेखिएको छ । संस्कृत, हिन्दी र नेपाली भाषामा मोटो ‘श’ र पेट चिरेको ‘ष’ लेख्ने परम्परा प्राचीन परम्परा होइन । पेट चिरेको ‘ष’ लाई धेरै पछिसम्म ‘ख’ उच्चारण गरिन्थ्यो । खडानन्द लेख्नु पर्दा पेट चिरेको ‘ष’ लेखेर ‘ख’ उच्चारण गरिन्थ्यो । जस्तैः ‘षडानन्द’ पाली, संस्कृत, हिन्दी र नेपाली भाषाको लिपी नागरिक नै हो तर ‘पाली’ भाषाको वणर्मालामा यी दुवै मोटो ‘श र पेट चिरेको ‘ष’ छैन मात्र तन्ते ‘स’ लेखिन्छ । यसबाट पनि प्रष्ट हुन्छ संस्कृत, हिन्दी र नेपाली भाषाका वणर्मालामा ‘श र ष’ पछि थपिएको हो । नागरिक लिपीमा देव उपसर्ग जोडेको ८औं शताब्दी पछि मात्र हो ।
इतिहासकार बाबुराम आचार्यले ‘प्राचीनकालको नेपाल’मा उल्लेख गरेअनुसार ‘काश्गर’ शब्दको मूलरूप ‘खसगिरी’ वा ‘खसगृह’ भएको र ‘खस’ वा ‘कस’ शब्दबाट काश्मीर बन्न आएको हो भनि लेखेका छन् । यसबाट पनि सहज अनुमान गर्न सकिन्छ कि खस शब्दबाट नै खश्मिरहुँदै कश्मिर भएको हो । संस्कृत वाङ्मयको आधारमा आर्यवर्तमा आवाद गर्ने आर्यहरूले काश्गार अर्थात् काश्मीर क्षेत्रमा सभ्यता विकसित गरी आएका खसहरूलाई किरातलाई जस्तै आफूभन्दा तल्लो तहको सम्झने गरेका थिए ।
त्यही कश्मिरदेखि अफ्गानिस्थानसम्म शासन गर्ने खसहरु कै एउटा हाँगो हो नेपालको खस । नेपालका खसहरु कर्णाली क्षेत्रमा ईसाको पाँचौ शताब्दीतिर नै स्थापित भैसकेको जाति हो भनि मानवशास्त्री डोरबहादुर विष्टले लेखेका छन् । खस सम्राट नागराजले शक्तिशाली खस साम्राज्य स्थापना गर्नु अघि देखि नै कर्णाली र सुदुरपश्चिम क्षेत्रमा खसहरुको आवाद थियो भनि लेखक सिताराम तामाङ्ले भनेका छन् । श्रीपाली वंशावलीमा ‘बडामहाराज नागराजले बडुवाल राजा, पाल राजा, थापा राजा, खड्का राजा, विष्ट राजा र जाडे राजा मारिकन खारीकोटको राज्य बढाएको हो । बडामहाराजको पालामा दशै दिशा जिती सिंजा नगरीमा सुनको दरबार लगायाको हो’ भनेर लेखिएको छ ।
त्यसको अर्थ नागराज आउनुपूर्व सिंजाक्षेत्र वरिपरि स-साना भुरेटाकुरे खस राज्यहरु स्थापित रहेको कुरा प्रमाणित गर्दछ । केही लेखकहरुले खसहरु नेपालभित्र प्रवेश मार्कण्डेय पुराणकाल (तेस्रो-पाँचौ शतब्दी )लाई मानेका छन् । मार्कण्डेय पुराणमा खशहरु नेपाल र स्वणर्भूमि (तिब्बत)को बीचमा बस्दथे भनिएको छ । सम्राट अशोक खस देशमा पुग्दा उनलाई खस राजाहरुले स्वागत गरेको इतिहासमा पाइन्छ उसो त प्रथम शताब्दीका कुषाण वंशी सम्राट कनिस्क कालीन महाकवि अश्वघोषको सबैभन्दा महंत्वपूणर् र मुख्य रचनामा ‘वुद्धचरितम्’ पर्दछ । यो ग्रन्थ भगवान गौतम बुद्धको जीवन गाथा हो ।
सत्र सर्गमा लेखिएको उक्त ग्रन्थका चौध सर्ग संस्कृत भाषामा छन् भने तीनवटा सर्ग खस भाषामा लेखिएको थियो । सम्राट अशोकका अठ्ठाईस वटा खरोष्टी लिपीका शिला लेख पाइएता पनि खस भाषाको अहिलेसम्म प्राप्य सर्वप्राचीन लिखतमा अश्वघोषको रचना नै पर्दछ भन्ने दाबी खसजातिका नेता तथा लेखक युवराज कार्कीले लेख मार्फत् गर्नु भएको छ । ‘अश्वघोषले अर्को एक रचनामा विश्व भाषाको सूचिमा खस भाषाको पनि उल्लेख गरेका छन् । यसबाट पनि प्रमाणित हुन्छ कि खस अत्यन्तै पुरानो जाति हो ।
तिब्बतको यारलुङ वंशावलीमा खसहरुको बारेमा उल्लेख गरिएको पाइन्छ । तिब्बेती भोट भाषामा खसलाई खाछ्ये, खस राजालाई याच्येपा ग्याल्पो र खस देशलाई याच्ये भनेको भेटिन्छ । तिब्बेती भाषामा उल्लेख गरिएको याच्येपा ग्याल्पो अर्थात् खस राजा जाबेश्वर नागराजले ताक्लाखारमा राजधानी बनाइ खस राज्यको जग बसाएका हुन् भन्ने गरिन्छ । त्यही ताक्लाखारको राजधानी पछि जुम्लाको सिंजामा सारिएको हो भन्ने भनाइ छ । नागराजकालिन सिंजाको दरबार ग्रिष्मकालिन हो भने दैलेखको दुल्लु दरवार शितकालिन दरवार हो । खस राजाहरु जाडोको बेला दुल्लु दरबार झर्ने र गर्मीको बेला सिंजा दरबार जाने गर्थिए ।
मंसिरे पुर्णेबाट खस राजाहरु उधो झर्ने र बैशाखी पुर्णेबाट उभो लाग्ने भएकाले खसहरुमा उधौली, उभौली पर्व मनाउने चलन रहेको ‘खस आन्दोलन अहंकारवाद कि मुक्ति ?’ नामक पुस्तकका लेखक जनक चेम्जोङले लेखेका छन् । यसरी नागराजले जग बसाएको खस राज्यको बारेमा थाहा पाउन खस साम्राज्य ई.सं. १३३७ को महाराज पुन्यमल्लको कनकपत्र अध्ययन गर्दा फारसदेखि चीन र श्रीलंकादेखि जाबासुमात्रा सम्मका राज्यहरुबाट यसले कर लिने गरेको उल्लेख छ ।
कैलाश मानसरोवर तल माथि र यस क्षेत्रका सबै देशहरुलाई उल्लेख गरेको छ । खस राजा अभय मल्लको वि.सं. १४३३ को अभिलेखमा पनि बाह्लिक खसिस्तान वा पर्सिया (फारस) सम्म खस प्रभावको चर्चा छ । पूर्वमा हालको चितवनसम्म दक्षिणको बोद्धगयासम्म खस साम्राज्यको अधिपत्य रहेको इतिहास भेटिन्छ । खसहरु लडाकु जातिका रुपमा चिनिएका थिए । क्राचल्लदेवले इ.सं. १२२३ मा कुमाउमाथि विजय प्राप्त गरेको कुरा कुमाउ बालेश्वरमा कत्युरी राजाले राखिदिएको ताम्रपत्रबाट खुल्दछ । उक्त ताम्रपत्रबाट तत्कालीन खस साम्राज्य अन्तर्गत दशवटा सामन्त राज्यमण्डलहरु रहेको कुरा पनि खुल्दछ । यसै वंशजका अशोक चल्ल विक्रमको १३औं शाताब्दीका भयङ्कर बहादुर शासक थिए ।
उनको सैन्यसंगठनलाई ‘सर्वगामिनिवाहीनी’ भनिन्थ्यो भने उनको देशलाई ‘सपादलक्षशिखरिखसदेश’ भनिन्थ्यो । क्राचल्लका छोरा अशोक चल्लले गढवालमाथि विजय प्राप्त गरेका थिए । अशोक चल्लको राज्य लद्दाखसम्म विस्तारित भएको प्रमाण पाइन्छ । पूर्वमा मगरात प्रदेशसम्म पनि उनको राज्य विस्तारित भएको थियो । अशोक चल्लको राज्यसीमाले कर्णाली प्रदेश, मगरात प्रदेश, खारी प्रदेश, केदारखण्ड (कुमाउ गढवाल) र लद्दाखसम्मको विशाल भूमि ओगटेको थियो ।
अशोक चल्लका छोरा जितारीले आफ्नो पुरानो थर चल्लदेव फेरेर मल्ल बनाए । यिनै जितारी मल्ललाई पूर्वतिरको सीमा विस्तारको श्रेय दिइन्छ । उनले इ.सं १२८८, १२८९ र १२९० मा लगातार काठमाडौं उपत्यका माथि आक्रमण गरेका थिए । अन्तिम युद्धमा नुवाकोटदेखि देउपाटनसम्म खसहरुको कब्जामा परेको थियो । यसरी उनको पालामा वागमती पश्चिमको भूभाग खस साम्राज्यमा गाभिएको थियो ।
जितारी मल्ल पछि रिपु मल्लले खस साम्राज्य विस्तारलाई निरन्तरता दिएका थिए । उनले नेपाल उपत्यकामा पनि आक्रमण गरेका थिए । दुल्लु, सुर्खेत र लुम्बिनीसम्म उनको अधीनमा थियो भन्ने कुरा लुम्बिनीको अशोक स्तम्भको अभिलेखमाथि थपिएको लिखतबाट स्पष्ट हुन्छ भनि मदन पुरस्कार प्राप्त सुप्रसिद्ध लेखक चन्द्रप्रकाश बाँनियाले लेख्नु भएको छ ।
बैद्धिक आर्यहरुले बैद्धिक धर्म ग्रन्थहरु लेख्नु भन्दा पहिला नै खस जाति भारतीय उपमहादिपमा बसोबास गरेको समाजशास्त्रीहरुले अध्ययन तथा अनुसन्धानमा उल्लेख गरेका छन् । खस जातिलाई कतिपयले आर्यको ठुलदाई समेत भन्ने गरेका छन् । अर्थात् बैद्धिक आर्यहरु गंगाको मैदानी भूभागमा आउनु भन्दा पहिला नै खसहरुले ती ठाउँहरुमा आवाद गरिसकेका थिए भनि महापण्डित राहुल साँक्रित्यायनले भनेकाछन् । खसहरुले आवाद गरेको भूमि बैद्धिक आर्यहरुले कब्जा गर्न ठुला ठुला युद्धहरु भएको देखिन्छ । त्यसैले बैद्धिक आर्यहरुले आफ्ना धर्मग्रन्थहरुमा खसलाई अपमानित ढंगबाट ब्याख्या गरेका छन् ।
आर्यहरुले खसलाई कहिँ पापी त कहिँ धर्म, कर्म गर्न नमिल्ने मेलेक्ष जाति भनि लेखेका छन् । बिष्णु पुराणमा खसजातिका मान्छेलाई यक्ष भनिएको छ । पाण्डवहरुको अश्वमेघ पर्वमा खसहरुलाई पनि आमन्त्रण गरिएको पाइन्छ । महाभारतमा उल्लेख भए अनुसार खस जातिले राजसूय यज्ञमा युधिष्ठिरलाई सुनको उपहार दिएका थिए । नेपालको सन्दर्भमा त बैद्धिक आर्यहरु खसहरुको तुलनामा धेरै कान्छो अर्थात् खस सभ्यता निर्माण भएको सयौं बर्ष पछि मात्र खस भूमिमा आएका हुन् । त्यसैले खस र बैद्धिक आर्यलाई एकै जाति भनि बुझ्नु र ब्याख्या गर्नु गलत हुन् जान्छ ।
खसहरु अवैदिक अर्थात् वेद परम्परा भन्दा बाहिरका जाति हुन् भनि प्रा.डा सूर्यमणि अधिकारीले भनेका छन्,‘खसहरु हिन्दूधर्मको सम्पर्कमा आउनु अघि शुद्र सरहका मतवाली थिए र हिन्दू परम्परामा आवद्ध हुनुअघि जनै लगाउँदैनथे, मष्ट धर्म (धामी परम्परा) मान्दथे’ । त्यसैगरी समाजशास्त्री डिकेन्द्र ढकालले ‘खस समाज र मष्ट परम्परा’ नामक लेखमा भनेका छन् -‘मस्टो परम्परा हिन्दु, इस्लाम, क्रिस्चियन बौद्ध आदि परम्पराभन्दा अघिदेखि नै प्रचलनमा रहेको ठहर हुन्छ ।’
यस हिसाबले प्राचीन मस्टो उपासक खसहरू हिन्दु थिएनन् । खस भूमिमा आएका हिन्दुहरूले पछि मस्टो परम्परा अंगालेका हुन् । अहिले हिन्दु धर्मावलम्बीहरूले पनि मस्टो परम्परा अवलम्बन गरेको पाइन्छ भने मष्टो मान्ने खसहरुले पनि हिन्दू परम्परा अपनाएका छन् । यो अभ्यास सांस्कृतिक अन्तरघुलनले गर्दा भएको हो । मनुले मनुस्मृतिमा खस जातिलाई ज्यादै तल्लो तहका क्षत्रीयमा राखेका छन् । हुन पनि जंगबहादुर कुँवर प्रधानमन्त्री हुँदासम्म कुँवर, थापा, बस्नेत आदि थर भएका खसहरुलाई कमसल खाले खसछेत्री भन्ने गरेको पाइन्छ ।
उनीहरुको भातभान्सा शाह र चौतारीया खलकमा चल्दैनथियो । खसछेत्रीलाई तीन डोराको मात्र जनै दिने गरिन्थियो । तीन डोरेलाई कमसल छेत्री भनेको पाइन्छ तर जंगबहादुरले प्रधानमन्त्री फत्तेजङ शाहकी बहिनी तर्फकी श्रीमती हिरंयगर्भकुमारी तर्फकी आफ्नी छोरी ललितराजेश्वरी युवराज त्रैलोक्य शाहलाई विवाह गराइदिएका थिए । कमसल खसछेत्री तर्फकी कन्याबाट जन्मेको राजकुमारले राजगद्दी समाल्न नपाउने भएकाले जंगबहादुर कुँवरले श्री ५ राजेन्द्र वीरबिक्रम शाहबाट एउटा लालमोहर लिएर ललितराजेश्वरी र त्रैलोक्य वीर विक्रम शाह तर्फका राजकुमार राजा हुन पाउने चलन चलाए ।
जुन लालमोहर यस्तो छ, “त्रैलोक्य वीरविक्रम शमशेर जंगबहादुर शाहलाई विवाह गर्न तिम्रा मैयाँ देऊ भनी हाम्रा खुशी राजीले मागेको हो तिम्रा मैयां दिनू विवाह भएपछि हाम्रा नातिले तिम्रा मैयांका हातको भात खान दिनू तिम्रा मैयां पट्टि जेठा छोरा भयो भने तिनले चलिआएको रीतबमोजिम गादीमा बसी रजाइं गर्नू हाम्रा खुशी राजसंग यी दुइ कुराको हुकुम बक्सेको छ यसमा जसले खरखिचोला गरी अर्को तरह गर्न पस्ला त्यसलाई जीवधनको शासना गर्नू भनी हुकुमको लालमोहर गरी बक्स्यौं ।”
खसहरु अवैदिक भएका हुनाले उनीहरु जनै लगाउँदैनथे । खसहरु उत्तर भारतमा आर्यहरुको आगमन हुनुपूर्व नै तिब्बतको दक्षिणी बाटोहुँदै प्रवेश गरिसकेको र त्योबेलासम्म उनीहरुमा वैदिक धर्मको कुनै प्रभाव नभएको कुरा ‘प्राचीन नेपालको राजनैतिक र साँस्कृतिक इतिहास’ नामक पुस्तकमा श्रीराम गोयलले उल्लेख गरेका छन् । खसहरु वैदिक धर्ममा अन्तरघलित भएर जनै धारण गर्न थालेको इतिहास त्यति पुरानो छैन ।
‘नरहरिनाथ : इतिहास प्रकाश सन्धिपत्र संग्रह’ का अनुसार सम्वत् १६१७ मा राजा गगनिराजका पालामा नौ थरका खसहरुले जनै पाएको उल्लेख छ । ‘गोकुल बुढ्थापा, रामु विष्ट, मिचा जाडर्या, रावल उमखोला, काल्च्या धराला यतिले सर्पका रोतले जनै पाया भैछ, धौला पानी विष्टले मष्टाका रोतले जनै : पाया भैछ ।’ यसरी योगी नरहरिनाथले सन्धिपत्र संग्रहमा खसहरुले जनै पाएको बताएका छन् ।
उनै गगनिराजले १६औं शताब्दीतिर कर्णाली मुगु भेगका मष्टो पूज्ने खस भनिएकालाई जनै दिएका छन् भन्ने प्रमाण भेटिएको छ । यसरी राजालाई खुसी बनाएर जनै पाउनेहरुमा हिरामनी (बोगटी), बुढा, कार्की, महत, रोकाया, भाम, भडारी, बुढाथोकी, रावल, बोहरा, कठायत, ऐडी, विष्ट जस्ता थर लेख्नेहरु भएको एक पुरानो कागजमा उल्लेख भएको प्रमाण फेला परेको छ । खसहरु लामो समयसम्म अवैदिक अवस्थामा नै रहेका थिए भन्ने यो भन्दा ठूलो प्रमाण अरु खोज्नु नपर्ला ।
खस साम्राज्यको पतनपछि जुम्लाका कल्याल वंशी राजाहरूको पालामा वनबाट ज्यूँदै बँदेल, चित्तल र वनघोडा समातेर दरबारमा ल्याउने वा बाघ, भालु, चितुवा मारेर दरबारमा बुझाउने जनतालाई इनाम स्वरूप कष्ठी अर्थात् जनै लगाइदिने गर्दथे भन्ने लिखत पाइन्छ । यसले पनि खसहरू अवैदिक थिए र जनै लगाउँदैनथिए भन्ने थाहा लाग्दछ ।
पछिल्लो समयमा वीरनरसिंह कुँवर जो खस जातिका थिए, उनी नेपालको श्री ३ महाराज घोषित हुन क्षेत्री हुनैपर्ने भएकाले ब्राह्मणसँग मिलेर चित्तोडगढका महाराणा प्रतापको वंशज भएको फर्जी कागजात शिलापत्र तयार गर्न लगाई श्री ५ सुरेन्द्रबाट क्षेत्री भएको सनदपत्र लिई जंगबहादुर राणा बनेपछि समग्र खसहरूलाई क्षेत्री बन्न बाध्य पारेका थिए । त्यो समयदेखि अधिकांश खसहरूले जनै धारण गरेका थिए । जसले जनै धारण गरेनन् र जाँड, रक्सी बनाएर खान छाडेनन्, तिनिहरुलाई अहिले पनि मतुवाली क्षेत्री भन्ने गरेको पाइन्छ ।
वि.सं. १९१३ मा नेपाल र भोटबीच भीषण युद्ध भयो । त्यस युद्धमा नेपाली फौजले अत्यन्त ठूलो बहादुरी देखाएकाले जीत नेपालको पक्षमा रह्यो । त्यो फौजमा खस समुदायको बाहुल्यता थियो । त्यस विजयबाट प्रभावित भई त्यो बेलाका सर्वेसर्वा प्रधानमन्त्री जंगबहादुर राणाले राजाबाट सनद जारी गराई खस समुदायलाई उनीहरुको जात उचाली ‘क्षेत्री’ बनाएको ऐतिहासिक प्रमाण छ । दुनियाँदारले पनि खसलाई क्षेत्री भन्नू, खसलाई क्षेत्री नभनी खस भनिएमा दण्ड जरिवाना गर्नु भनी आदेश गरेकाले खसलाई खस भन्न कानूनले प्रतिबन्ध लगाई दिएपछि खसहरुले आफूलाई क्षेत्री भन्न थालेको देखिन्छ ।
त्यसै हुनाले खसहरुले आफूलाई क्षेत्री भन्ने गरेको पाइन्छ । फेरि सबै क्षेत्री खस होइनन् अर्थात् जाति च्युत गरेर बनाएका क्षेत्री पनि छन् र खसबाट झारेर कामी, दमाइ, सार्की पनि बनाएको छ भने कतिपय खसबाट नै बाहुन पनि बनाएको छ । यसरी वणर् व्यबस्थाले विभाजित गरेको खस समाजलाई एकीकृत गर्ने ऐतिहासिक कार्यभार हाम्रो काँधमा आएको छ ।
जो खस हो उसले हिनताबोध गरेर बस्ने दिन अब छैन, यदी आफू खस हो भने आफूलाई खस जातिमा समाहित गरौं, बिग्रिएको, बिगारिएको इतिहास सच्याउने हिम्मत गरौं ! ढोल बजाउने ‘कार्कीढोली’ले सुतारकार्की, लामाकार्की, मुडुलाकार्की, जस्तै आफू पनि कार्कीखस भएको दाबी गर्ने बेला आएको छ दमाइ/दलितको पगरी गुथेर अब नबसौं ! खस समाजलाई पुनःसंरचना नगरेसम्म वणर् व्यबस्थाले थिल्थिलो बनाएको समाजलाई न्याय दिन गाह्रो छ त्यसैले ‘खस-आर्य’ नामको कलस्टरको शल्यकृया गर्न आवश्यक छ । अर्थात् खस र आर्यलाई एउटै टोकरीमा हालेर होइन अलग-अलग नै राखेर पहिचान बचाउन आवश्यक छ ।
वेद मान्ने परम्पराबाट आएकालाई वैदिक र वेद भन्दा पहिल्यै स्थापित परम्परा मान्ने जाति वा संस्कृतिलाई अवैदिक भनिन्छ । खस अवैदिक मुलवासी हो भन्ने कुराको उल्लेख माथि नै भैसक्यो, यसरी वेद परम्परा भन्दा बाहिरको मष्ट धर्म मान्दै आएको र खस साम्राज्यकालमा बौद्ध धर्मलाई राज्य धर्मको रुपमा अपनाउने नेपालको मुलवासी खस जातिलाई कानुनतः आदिवसीमा सूचिकृत गर्नुपर्ने बेलामा आर्यसँग जोडेर ‘खस-आर्य’ नामको क्लस्टर बनाउनु भनेको खस जातिको स्वतन्त्र अस्तित्व समाप्त पारिदिने योजना हो भनेर बुझन सकिन्छ ।
यसो गर्नु भनेको कालान्तारमा खस र आर्य एकै हो भन्ने भाष्य निर्माण गर्ने कानुनी प्रयत्न हो यो । यसले बिस्तारै खस संस्कृतिलाई आर्य संस्कृतिमा बिलय गरिदिन्छ । यदी कुनै पनि जातिको पहिचान बोक्ने संस्कृति मासियो भने त्यो जाति पनि मासिन्छ भन्ने भनाइ छ । त्यसैले यसलाई समयमै सच्याउन सकिएन भने खसको ऐतिहासिक बिरासत मेटिने निश्चित जस्तै छ ।