• मंसिर ११ २०८१, मंगलवार

जोनसनको अर्धशतकमा पाकिस्तानसामु क्यानडाको १ सय ७ रनको लक्ष्य

जेष्ठ २९ २०८१, मंगलवार

न्युयोर्क । एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले पाकिस्तानसामु जितका लागि १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको समूह ए अन्तरगतको खेलमा क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।

लो स्कोरिङ खेलहरु भइरहेको यस मैदानमा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ४ छक्का प्रहार गरे । कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए ।

पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए । दुवै टोलीको यो तेस्रो खेल हो । पाकिस्तान हालसम्म जितविहीन रहेको छ । टोलीलाई आज जित्नै पर्ने दबाब छ । क्यानडाले भने २ खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ ।