काठमाडौं । मष्टो धर्म, संस्कृति संरक्षण समितिका अध्यक्ष थर्कबहादुर बस्नेतले अब आफूहरुले मष्टो संस्कृतिलाई हिन्दु धर्मबाट अलग गर्ने बताएका छन् । उनले मष्टो संस्कृतिमा भारतबाट आएका आर्यहरुले हिन्दू धर्मका मूल्यमान्यताहरु मिसाएर मष्टो संस्कृतिलाई विकृत पारिदिएकोले आफूहरुले मष्टो संस्कृतिलाई शुद्ध बनाएर लैजाने दाबी गरे ।
गोलखबर डटकममा पत्रकार जीवन हमालसँगकाे मष्टो संस्कृति सम्बन्धि विशेष कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । मष्टो संस्कृतिका खोजकर्ता समेत रहेका बस्नेतले जसरी मगर, तामाङ, थारु, लिम्बु र मधेसी जस्ता सयौं जातिहरुका संस्कृति, धर्म र परम्परा छन्, त्यसैगरी खसहरुको पनि मष्टो संस्कृति भएकोले यसको संरक्षणमा आफुहरु लागेको बताए ।
कुराकानीका क्रममा उनले जसरी अन्य जनजातिहरुले आदिवासी जनजातिको मान्यता पाएका छन्, त्यसैगरी खसहरुले पनि आदिवासी जनजातिको मान्यता पाउनु पर्ने र राज्यका सबै अंगहरुमा समानुपातिक रुपमा सहभागीता हुनुपर्ने बताए । बस्नेतले ९ बहिनी भवानी र १८ भाई मष्टोलाई पुज्नेहरु नै खस समुदाय भएको बताए ।
नेपालको भेरी नदीदेखि पश्चिमका हालका कुमाउ, गढवाल, जम्मुकाश्मिर लगायतका ठाउँहरुमा पनि मष्टो पुज्ने गरेको उनको भनाई रहेको छ ।
खासमा मष्टो भनेको के हो ? भन्ने प्रश्नको जवाफमा मष्टोको धामी समेत रहेका बस्नतेले भने–मानवजाति लगायत धर्तीमा रहेका सम्पूर्ण चराचर जगतलाई श्रृष्टि गर्ने प्रकृतिलाई मष्टो नामाकरण गरिएको र त्यही प्रकृतिलाई सम्मान, सम्झना र आरधना गर्ने विभिन्न विधि र तरिकाहरु नै मष्टो पुज्ने विधिहरु हुन् ।’
उनको भनाईमा मष्टो अर्थात् प्रकृति पूजा ठाउँ अनुसार कतै बलि दिएर र कतै दुध र खिर चढाएर गर्ने गरिन्छ । बस्नेतले १४औं सताब्दीदेखि खसहरुलाई हिन्दुकरण गर्न सुरु गरिएकोले त्यतिबेलादेखि खस संस्कृति र परम्पराहरुलाई हिन्दुमा मिसाएर घालमेल पारिदिएकोले आफूहरुले अब मष्टो परम्पराभित्र रहेका मूल्यमान्यताहरुलाई अलग गरेर यसको पहिचान स्थापित गर्दै लैजाने बताए ।
उनले खसहरुलाई १५औं सताब्दीदेखि मात्र बाहुनहरुले जनै हालिदिएको इतिहास सुनाए । उनले नेपालमा ठकुरीहरु खस राजाहरुकै सन्तान भएको पनि बताए । हिन्दुकरण गर्न काठमाडौंमा बौद्ध धर्मका ८४ हजार श्लोक भएका ग्रन्थहरु जलाइएको उनको भनाई रहेको छ । उनीसितको विस्तृत कुराकानी तल सुन्न सक्नुहुनेछ ।