काठमाडौँ । एमाले नेता डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि गृहमन्त्री रवि लामिछानेले देशद्रोह अभियोग लगाएकोले थापालाई तत्काल गिरफ्तार गरि कानुनी कारबाही गरिनुपर्ने बताएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।
लामिछानेको सोही अभिव्यक्तिमा केन्द्रित रहेर पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत् गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने समेत बताएका छन् ।
देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा गृहमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने पनि रावलको माग छ ।