काठमाडौं । विश्वासको मत लिने क्रममा कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मूल्य चुकाउनुपर्छ भनी दिएको चेतावनीप्रति कांग्रेसले जवाफ फर्काएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका मुख्य सचेतक रमेश लेखकले गैरजिम्मेवार ढंगले बोल्ने र लान्छना लगाउने कार्य बन्द गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । उनले भने, ‘मूल्य चुकाउनुपर्छ भन्नुभयो । तपाईंलाई जङ्गलबाट यहाँ ल्याउने कांग्रेसलाई बिर्सिनुभयो ? शान्ति प्रक्रियामार्फत् माओवादीलाई राजनीतिमा ल्याउन कांग्रेसको योगदान छैन ? गैरजिम्मेवार ढंगले बोल्ने र लान्छना लगाउन बन्द गर्दिनुस् । धम्क्याएर तर्साएर तर्सिने पार्टी कांग्रेस होइन ।’
प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षीको नाराबाजीका बीच विश्वासको मत लिएपछि कांग्रेसले लोकतन्त्रको मूल्यमान्यता मिचेको प्रतिक्रियासमेत दिएको छ । संसद बैठकपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले देशभरका सहकारीको ठगीबाट पीडित नागरिकलाई बेवास्ता गरेको र केही सहकारी ठगलाई बचाउन लोकतन्त्रको मून्ल्यमान्यता मिचेको निष्कर्ष निकालेको हो ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘आजको बैठकमा प्रतिपक्षीले समय माग्दा पनि बोल्न दिइएन । यसको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । लोकतन्त्र र संसदीय मूल्यमान्यता उलंघन नगर्न चेतावनी आजको बैठकले दिएको छ ।’
उनले सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारले बलमिच्याइँ गरेको बताए । उनले विश्वासको मत लिने समय तीन हप्ता बाँकी रहे पनि बलमिच्याइँ गरिएको बताए ।
उनले भने, ‘नेपालको संसदीय इतिहासमा नौलो र दुखदायी घटना भएको छ । संसदलाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिने नाटक गरेको छ । पार्टी विषेशको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु सभामुखलाई शोभनीय हुँदैन ।’