काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा गएर अलपत्र परेका श्रमिकको उद्धार गर्न छुट्टै कोष स्थापना गर्न लागिएको बताएका छन् ।
शनिबार सुर्खेतमा आयोजित पत्रकारसँगको भेटघाटमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।
‘गैरकानुनीमा रुपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन्,’ मन्त्री अर्यालले भने, ‘उनीहरुको उद्धार गर्नु सरकारको दायित्व हो, त्यसैले छुट्टै कोषका लागि आगामी बजेटमा व्यवस्था गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेका छौं ।’
हाल श्रम मन्त्रालयबाट श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै सरकारले उद्धार गर्दै आएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोषमार्फत जोखिममा परेका यस्ता श्रमिकको उद्धार सरकारले गर्दै आएको छ । तर, गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गएका श्रमिकलाई उद्धार गर्ने कोष भने सरकारसँग छैन ।
यस्तै, वैदेशिक रोजगारीका क्रममा ठगिए वा ठगिएको महशुस भए तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्नसमेत श्रममन्त्री अर्यालले आग्रह गरे ।
‘वैदेशिक रोजगारीको नाममा ठगिएमा वैदेशिक रोजगार विभागमा तुरुन्तै उजुरी दिनुहोस्,’ उनले भने, ‘त्यो सम्भव भएन भने पनि हाम्रो सचिवालयमा ठगी गरेको संस्था वा व्यक्तिको विवरण टिपाउनुहोस् ।’