• मंसिर १३ २०८१, बिहीबार

ओलीसित दल फुटाउने खेलमा प्रचण्डपनि लागेको देखियो : गगन थापा

जेष्ठ ४ २०८१, शुक्रबार

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन गरिरहेको तयारीमा सफा नियत नदेखिएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पर्याप्त समय हुँदाहुँदै सोमबार नै विश्वासको मत लिन खोजिनुमा शंका गर्ने ठाउँ रहेको बताए ।

‘सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा छ । यसमा पनि सफा नियत देखिएन । उहाँले अहिलेको विवाद मिलाउन खोजिरहेको छु भनिरहनु भएको छ । हामी पनि पत्याइरहेका छौँ । तर, अब शंका गर्ने ठाउँ देखियो,’ थापाले भने ।

उनले कांग्रेस आफ्नो अडानमा यथावत रहेकाले सोमबार विश्वासको मत लिन खोजिँदा पनि संसद अवरोध कायमै रहने आशय व्यक्त गरे । ‘हामीलाई फलानोलाई बोल्न दिइएन भनेर त आलोचित गरिँदैछ भने विश्वासको मत लिन दिएन भनेर आलोचना गर्दा फरक पर्नेवाला छैन,’ थापाले भने ।

उनले संसद बन्द गरेर सरकार दल फुटाउने षड्यन्त्रमा लागिरहेको आरोप लगाए । एमाले अध्यक्ष केपी ओली दल फुटाउने षड्यन्त्रमा लागेको सबैलाई थाहा भए पनि पछिल्ला गतिविधिले प्रधानमन्त्री प्रचण्ड पनि यसमा संलग्न रहेको देखिएको थापाले बताए ।

‘संसद बन्द गरेर अध्यादेश ल्याउने र दलहरू फुटाउने कुरामा एमाले अध्यक्ष ओली हुनुहुन्छ नै । यसमा प्रधानमन्त्री पनि संलग्न भएको देखिन्छ,’ थापाले भने ।