काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ एमालेका सांसदहरूबीच मुठभेडको अवस्था सिर्जना भयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङ आमनेसामने भएका देखिन्थ्याे ।
चोर औँला ठड्याएर गुरुङले नारा लगाएका थिए भने ओलीले सो ठाउँमा गएर केही भनिरहेकाे देखिएकाे थियाे । त्यसपछि सदनमा मुठभेड चर्किएको थियो । त्यतिबेला भएको के हो भनेर हामीले कांग्रेसका उपसभापति गुरुङलाई सोधेका छौँ ।
उनकाे भनाइ जस्ताकाे त्यस्तै :
आमनेसामने मात्र भएको हो । खास त्यस्तो भएको केही होइन । ओली जी बस्ने ठाउँ र उपसभामुख बस्ने ठाउँको बीचमा म उभिएको थिएँ । नारा लगाउँदा ओली जीले आफैँ उभिएर तपाईं यहाँबाट हट्नुस् यहाँ उभिन पाउनुहुन्न भन्नुभयो । मैले उहाँको कुरामा प्रतिवाद गर्न आवश्यक नठानेर नारा नै लगाइरहेँ । पहिले पनि नारा नै लगाइएरहेकाे थिएँ । प्रतिपक्षले वेल घेरिरहेको अवस्था थियो । सभामुखे बैठक चलाइरहनुभएको थियो । मैले जबर्जस्ती गर्न पाइँदैन भन्ने नारा लगाइरहेको थिएँ । त्यही नारा लगातार लगाइरहेँ । उहाँले एकोहोरो तपाईं हट्नुस् भनिरहनुभयो । त्यसपछि उहाँहरूका माननीय सदस्यहरू पनि आउनुभयो । अध्यक्ष नै उठेपछि अरु पनि आउने नै भए नि । मैले लगाएको नारा ओलीविरुद्ध लगाएको होइन नि । उहाँ नजिक आउनुभएपछि उहाँलाई सुनाउनैपर्याे । भएकाे यत्ति हाे ।