• जेष्ठ ४ २०८३, सोमबार

१३ दिनकी सुत्केरी श्रीमतीको हत्या गरी आफूले पनि गरे आत्महत्या

जेष्ठ १ २०८१, मंगलवार

खलंगा । सल्यानमा दम्पती नै मृत भेटिएका छन् । नेपाल प्रहरीका अनुसार शिद्धकुमाख गाउँपालिका-४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।

केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

उनका अनुसार घटना मंगलबार बिहान करिब ४ बजेको समयमा भएको हो । राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेका छन् ।

केशवको मानसिक अवस्था ठिक नभएको र मादक पदार्थ सेवन धेरै गर्ने गरेको कुरा स्थानीयबाट जानकारीमा आएको कार्कीले बताए ।
‘हामीले अहिले घटनास्थलमै छौँ, शव पोस्टमार्टमका लागि लिने तयारी भइरहेको छ,’ उनले भने । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

यसअघि आइतबार पनि सल्यानमा यस्तै घटना घटेको थियो । बनगाड कुपिण्डे नगरपालिका-४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरी आफै झुन्डिएर आत्महत्या गरेका थिए ।