• मंसिर १३ २०८१, बिहीबार

गृहमन्त्रीले बोल्न पाउनुपर्ने रास्वपाको माग, कांग्रेस भन्छ– धन्यवाद प्रस्ताव टेबल हुँदैन

जेष्ठ १ २०८१, मंगलवार

काठमाडौं । सभामुख देवराज घिमिरिले बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद् बैठकमा बोल्न पाउनुपर्ने माग राखेको छ ।

बैठकमा सहभागी भएका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लामिछानेले संसद् बैठकमा सभामुखले बोल्न दिएको भन्दै मंगलबारको बैठकमा बोल्न पाउनुपर्ने माग राखे ।

“गृहमन्त्रीले बोल्न पाउनुपर्छ । धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन । कांग्रेसले पुनर्विचार गर्नुपर्छ,” उनले भने ।छलफलमा सहभागी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नीति कार्यक्रम प्रस्तुत हुन दिने, तर धन्यवाद प्रस्ताव टेबल गर्न नदिने अडान राखेको छ ।

सचेतक सुशीला थिङले बैठकमा भनिन्, “संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने, तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ । छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ ।”

बैठकमा सभामुख देवराज घिमिरेले दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो नहुने बताए ।

उनले राजनीतिक दलहरूबीच सहमति नहुँदा संसद्का बिजनेश प्रभावित हुने देखिएको उल्लेख गरे । “संवैधानिक संकट हुने अवस्था नआओस,” उनले भने ।