संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गदै आएको छ भने काँग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो ।
बुधबार काठमाडौँको माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।
‘सोमबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्यो । देशभरिबाट सहकारी पीडितहरूले हारगुहार गरिरहेको अवस्था छ,’ गुरुङले भने, ‘यस्तोमा सरकार रमिने बनेर बस्न मिल्दैन । हामीले सहकारी ठगलाई कारबाही र बचतकर्ताको रकमको सुरक्षाका लागि सडक प्रदर्शनको गर्दैछौँ ।’ बुधबार दिउँसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर बृहत् र्याली निकालिने उनले बताए ।