काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबिना अवरोध प्रस्तुत हुने बताएका छन् । जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । संसदीय समिति गठन नभएको भन्दै कांग्रेसले संसद अधिवेशन सुरू भएको दिन पनि अवरोध गरेको थियो । संसदीय समिति गठन नगरे सदन अवरोध कायमै रहने कांग्रेस नेताहरूले बताउँदै आएका छन् ।
प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूसँग गम्भीरतापूर्वक छलफल गरिएको बताए । कारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण सोमबार बेलुकीसम्म बन्ने उनको विश्वास छ ।
‘मैले गम्भिरतापूर्वक नै आज प्रमुख प्रतिपक्षसँग छलफल गरेको छु । निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ,’ आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालसँगको भेटपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री दाहाल उपप्रधानमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउन सकारात्मक नै रहेको प्रतिक्रिया दिएका छन् ।