काठमाडौं । चिकित्सक डा. गोविन्द केसीले शनिबार २२औँ सत्याग्रह सुरु गरेका छन् । मुख्य रूपमा तीनवटा माग राखी उनले सत्याग्रह सुरु गरेका हुन् ।
उनको पहिलो माग नै प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा छ । प्रचण्ड द्वन्द्वको समयमा मानवताविरोधी घोर अपराध र युद्धअपराधमा संलग्न रहेको भन्दै उनको राजीनामा मागिएको छ । केसीले द्वन्द्वपीडितलाई न्याय दिलाउन टीआरसीसम्बन्धी कानुन छिटो टुंगो लगाउन समेत माग गरेका छन् ।
डा.केसीले दोस्रो मागका रूपमा सम्पूर्ण नागरिकलाई निःशल्क गुणस्तरीय स्वास्थ्य सुविधा हुनुपर्ने बताएका छन् ।
डा.केसीको तेस्रो माग मेडिकल शिक्षासम्बन्धी रहेको छ । इलाम, डडेल्धुरा, उदयपुरमा मेडिकल प्रतिष्ठान तुरुन्त सञ्चालन गर्न उनले माग गरेका छन् ।
डा.केसीले प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओलीबाट देशको भलो नहुने भन्दै यी तीनै नेताले पार्टीको नेतृत्वको पछिल्ला पुस्तालाई हस्तान्तरण गर्नुपर्ने समेत बताएका छन् ।