• मंसिर १२ २०८१, बुधबार

नेपालगञ्जमा मातृमृत्यु दर कम गर्ने बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैशाख २९ २०८१, शनिबार

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशनालयको आयोजनामा स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको मुख्य उद्देश्य मातृमृत्युदर कम गर्नु रहेको छ ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद‌कुमार गिरी निर्देशक, कोहलपुर मेडिकल कालेजका प्रतिनिधि खुमबहादुर खड्का स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर, नेपालगञ्जमा उपप्रमुख कमरुद्दीन राई, भेरी अस्पतालका सुप्रिटेन्डेन्ट, सबै स्तरका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, विभिन्न वडाका वडाअध्यक्षहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागी, पत्रकार र स्वास्थ्यकर्मीहरुले मातृ मृत्युदर कम गर्नका लागि आआफ्नो स्तरबाट गर्न सकिने पहल र सहकार्य बारे छलफल गरी सेवा प्रदान गर्दा आइरहेका समस्या र समाधानका उपाय बारे स्वास्थ्य निर्देशनालयलाई जानकारी गराए ।

विभिन्न चरणमा स्थानीय तहका स्वास्थ्य संस्थाले मातृमृत्युदर कम गर्न पहल गरिरहँदा पनि आशा गरिए अनुसार मृत्यु दर कम गर्न नसकिनुको कारण र उपाय बारे बताउँदै नेपालगञ्ज उपमहा नगरपालिकाका प्रवक्ता प्रमोद रिजालले भने ‘गर्भवती जाँच सही तरिकाले हुनुपर्छ, सुत्केरी गराउनका लागि सबै तहमा सहज हुने खालको बर्थिङ सेन्टर खोलिनु आवश्यक छ, ताकि गर्भवती महिलाहरुलाई रिफरको झन्झट नहोस् । यसका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तिनै तहबीच समन्वय र सहकार्य आवश्यक छ । बर्थिङ सेन्टर बनाउनका लागि कार्यान्वयन पक्षलाई झक्झयाउने हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ ।’

कार्यक्रममा भनाइ राख्ने क्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद‌कुमार गिरीले गुणस्तरीय तरिकाले गर्भ जाँच गर्न सेवासुविधा उपलब्ध गराउने, कुपोषण, रक्तअल्पता, गर्भावस्था, मातृ मृत्युदर कम गर्न र पुड्कोपन कम गर्न नीतिगत पहलको खाँचो रहेको बताए ।