काठमाडौँ । संघीय संसद्को संयुक्त बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने भएको छ । जेठ १ गते संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे राष्ट्रपति पौडेले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएपनि कांग्रेसले अवरोध गर्ने बताएको हो ।
संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले शुक्रबार सूचना जारी गर्दै सो दिन औपचारिक पोसाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह समेत गरेका छन् । तर कांग्रेसले भने संसद् अवरोध जारी रहने जनाएको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले उपप्रधान तथा गृहमन्त्री रवि छामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अवरुद्ध हुने बताए ।उनले भने, ‘संसदीय छानबिन समिति नबनी संसद्का सबै काम कारबाही अवरुद्ध हुन्छन् । नीति तथा कार्यक्रम पनि त्यहीभित्र पर्छ ।’ कांग्रेसले बजेट अधिवेशनको पहिलो बैठकमा पनि अवरोध गरेको थियो ।