काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ ।
सभापति शेरबहादुर देउवाले अहिले बिहान १० बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन् । पार्टीका नेता, पूर्वमन्त्री एवं प्रजातान्त्रिक योद्धा सूर्यमान गुरुङको मंगलबार ८४ वर्षको उमेरमा निधन भएको र गुरुङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।
स्वर्गीय गुरुङप्रति शोक प्रस्ताव पारित गर्ने गरी बैठक बोलाइएको केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए । ‘पार्टीका नेता, पूर्वमन्त्री सूर्यमान गुरुङको निधन भएको विषयमा छलफलका लागि सभापतिजीले आकस्मिक बैठक राख्नुभएको छ,’ उनले भने, ‘बैठकले शोक प्रस्ताव पारित गर्नेछ । त्यसपछि आजै उहाँको दाहसंस्कार गर्ने कार्यक्रम छ ।’
उनका अनुसार सम्भवतः बैठकले शोक प्रस्ताव पारित गरेपछि बिहीबार गर्ने भनिएका पार्टीका बैठक र कार्यक्रमहरू समेत स्थगित हुनेछन् ।
गुरुङको मंगलबार उपचारको क्रममा काठमाडौँको हिमाल अस्पतालमा निधन भएको थियो ।