काठमाडौँ । प्रहरी वृत्त बौद्धमा बुधबार बिहान ८ बजेर ४० मिनेटमा एकजना युवक गए । वृत्तको गेटमा पुगेर भने,‘श्रीमतीलाई मैले कुटेर हत्या गरेँ ।’ गेटमा खटिएका सुरक्षाकर्मीले डीएसपी राजु पाण्डेलाई खबर गरे । तत्काल पाण्डे आफ्नो टिमसहित घटनास्थलमा पुगे ।
काठमाडौँ महानगरपालिका-६ स्थित भुवलडाँडामा रहेको छिरिङ लामाको घरको भुईं तलामा ढोका खोलेर हेर्दा ३५ वर्षीया अनिसा चाहार मृत अवस्थामा थिइन् ।
चाहार ओछ्यानमा मृत अवस्थामा भेटिएकी हुन् । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । हत्यामा संलग्न उनका श्रीमान् ३५ वर्षीय सन्तोष परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । हत्यामा संलग्न आरोपी ओलखढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर-३ का स्थानीय हुन् ।
पत्नीसँग शंका लागेपछि मोबाइलमा अडियो रेकर्ड सेट गरेर सन्तोषले अनिसाको गतिविधि निगरानी गरे । पर पुरुषसँग बोलेको ४ मिनेटको अडियो सुनेर आफूलाई असह्य भएपछि कुटेर हत्या गरेको उनले प्रहरीसँग साविति बयान दिएका छन् ।
अनिसाले सन्तोषसँग तेस्रो र सन्तोषले अनिसासँग दोस्रो विवाह गरेका हुन् । दुईपटक कतार र मलेसिया गएर फर्केका सन्तोष पछिल्लो समय बौद्धस्थित भुवलडाँडामा बस्दै आएका थिए । हत्या गरेपछि फरार भएपनि प्रहरीले पक्राउ गर्ने आकलन गरेर आफूले समर्पण गरेको उनले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् ।
मृतकको अनुहार, निधार, पेट तथा छातीमा चोट देखिएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।