वीरेन्द्रनगर । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) बाट तीन जना मन्त्री नियुक्त भएका छन् । मन्त्री हुनेहरुमा कालिकोटका दुर्गबहादुर रावत, रुकुम पश्चिमका महेन्द्र केसी र डोल्पाका वीरबहादुर शाही रहेका छन् ।
तीन जनाको नाम माओवादी संसदीय दलका नेता राजकुमार शर्माले आइतबार नै मुख्यमन्त्री कहाँ पठाइसकेका थिए । कुन व्यक्तिलाई को मन्त्रालय दिने भन्ने विषय भने बाहिर आएको छैन । नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो २ः३० बजे रहेको छ ।
यस्तै माओवादीबाट रणसिंह परियार भने यसअघि नै मन्त्री बनिसकेका छन् । उनलाई पनि मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी छ । स्रोतका अनुसार केसीलाई अर्थ, परियारलाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिने देखिएको छ । शाहीलाई उद्योग र रावतलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने देखिएको छ ।
सत्तारुढ दल एमाले र माओवादीबाट गरी ६ जनाले आज शपथ लिँदैछन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार दिउँसो २ः३० बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको छ । यद्यपि एमालेबाट ६ जना नयाँ बन्ने मन्त्रीको नाम भने सार्वजनिक भएको छैन ।
एमालेबाट तीन जना मन्त्री बन्नेछन् । ८ सदस्यीय मन्त्रिमण्डलमा यसअघि माओवादीबाट रणसिंह परियार मन्त्री भइसकेका छन् ।